बाढी प्रभावित ७४ परिवारलाई भोटेकोशी गाउँपालिकाले २–२ लाख राहत दिने

सिन्धुपाल्चोक । भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी गाउँपालिकाका ७४ परिवारलाई स्थानीय सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। गाउँपालिकाले बाढीमा बेपत्ता भएका ७३ परिवार र एक मृतकको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

भदौ १५ गते गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाको अध्यक्षतामा बसेको आकस्मिक गाउँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। राहत रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइनेछ।

गाउँपालिकाका अनुसार राहत रकम सम्बन्धित परिवारका संरक्षक, अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खातामा पठाइनेछ।

जोखिममा परेकाको हवाई उद्धार

बाढी तथा पहिरोका कारण कतिपय सडक र पुल अवरुद्ध भएपछि जोखिममा रहेका नागरिकको उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टर तथा अन्य हवाई साधन प्रयोग गर्ने निर्णय पनि गरिएको छ। उद्धारका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सम्बन्धित निकायसँग समन्वय गरिने गाउँपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत दिपक दाहालका अनुसार बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको विवरण वडा कार्यालयमार्फत संकलन भइसकेको छ। प्रभावित परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन विभिन्न निकायसँग सहकार्य भइरहेको उनले जानकारी दिए।

खोजी तथा उद्धारदेखि घाइतेको उपचार, सुरक्षित स्थानमा स्थानान्तरण र पुनःस्थापनासम्म आवश्यक पर्ने खर्च गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णयसमेत भएको छ।

सहयोग गर्न दाता तथा संस्थालाई आग्रह

बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्न चाहने व्यक्ति, सामाजिक संस्था तथा अन्य संघ–संस्थालाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न स्थानीय सरकारले आग्रह गरेको छ।

अध्यक्ष शेर्पाका अनुसार प्रभावित नागरिकलाई आवश्यक सहयोग जुटाउन गाउँपालिकाले विभिन्न सामाजिक संस्था तथा दाताहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

यसै बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ मा पहिलो संशोधन गरी २०८३ सालदेखि लागू गर्ने निर्णय पनि गरेको छ।

गाउँपालिकाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता तथा प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

१६ भाद्र २०८३, मंगलवार १७:०९