गैटार–कालीआँप सामुदायिक वनको सिमाना तथा स्रोतपरिचालन सम्वन्धी विवाद, समाधान प्रक्रियामा अघि वढ्यो


जनतापत्र, सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका–१० स्थित गैटार–कालीआँप सामुदायिक वन उपभोक्ता समूहको सिमाना तथा स्रोत परिचालनसम्बन्धी लामो समयदेखि देखिँदै आएको विवाद समाधानका लागि बहुसरोकारवाला विवाद रूपान्तरण प्रक्रियाअन्तर्गत प्रक्रिया प्रस्ताव पारितको संयुक्त बैठक आइतबार सम्पन्न भएको छ । बैठक प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको सहयोग तथा सहजीकरणमा सम्पन्न भएको हो ।
इन्द्रावती गाउँपालिका न्यायिक समितिको पत्रअनुसार चरणवद्ध प्रकृयामा सुरु गरिएको यस बहुसरोकारवाला संवाद प्रक्रियामा कार्यसमिति, उपभोक्ता, सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरूको सहभागितामा दिगो समाधान खोज्ने उद्देश्यले संयुक्त बैठक आयोजना गरिएको थियो । बैठकमा आपसी संवादमार्फत विवाद समाधान गर्ने साझा प्रतिबद्धता व्यक्त गर्दै प्रक्रिया प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ ।
कार्यक्रममा बोल्दै वडा नं. १० का अध्यक्ष रामचन्द्र घिमिरेले विवाद समाधान प्रक्रियामा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालले स्थानीय समुदायको “सारथी”को रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले विवाद समाधानका लागि विभिन्न चरणमा कार्यक्रम सञ्चालन भइरहेका उल्लेख गर्दै यस प्रक्रियाबाट विवाद रूपान्तरणसँगै समुदायबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। साथै, सबै पक्षको भावना एकताबद्ध गर्दै सिमाना तथा स्रोत परिचालनसम्बन्धी समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।


बैठकमा कार्यक्रमको उद्देश्य तथा औचित्यबारे विदुर गिरीले सहजीकरण गर्नुभएको थियो भने खाट विधिमार्फत प्रक्रिया प्रस्तावको मस्यौदामाथि छलफल गराउने सहजीकरण टीका सुबेदीले गर्नुभएको थियो। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालका राष्ट्रिय स्रोत व्यक्ति नेत्रप्रसाद धितालले शुभकामना मन्तव्य व्यक्त गर्दै रूपान्तरण प्रक्रिया केही समय लाग्ने भए पनि यसले दीर्घकालीन तथा प्रभावकारी समाधान सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो।
बैठकको अध्यक्षता माकुरा समूहका संयोजक रामकुमार घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य हेमन तामाङले राख्नुभएको थियो। कार्यक्रम सञ्चालन सर्मिला विकले गर्नुभएको थियो।


संयुक्त बैठकबाट पारित प्रक्रिया प्रस्तावअनुसार अब सबै पक्षबीच आपसी संवादमार्फत साझा सवालहरूको पहिचान गरी सर्वमान्य विकल्प चयन गर्ने, संयुक्त बैठकमार्फत सहमति निर्माण गर्दै कार्यान्वयनमा लैजाने सहमति गरिएको छ। साथै, आगामी बैठकहरू सबैलाई पायक पर्ने सार्वजनिक स्थानमा आयोजना गर्ने र त्यससम्बन्धी जानकारी सबै उपभोक्तालाई अग्रिम रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ।
त्यसैगरी, प्रक्रियामा संलग्न माकुरा समूहका सदस्य तथा सहजकर्ताहरूले सम्पूर्ण कार्य पारदर्शी रूपमा सञ्चालन गर्ने, निर्णय प्रक्रियाबाट कसैलाई पनि बञ्चित नगर्ने तथा सबै पक्षको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। असहमति रहेका विषयहरू औपचारिक बैठकमै स्पष्ट रूपमा राख्ने र चोक–चौतारोमा अनावश्यक टीकाटिप्पणी नगर्ने सहमति समेत गरिएको छ।
प्रक्रियाका क्रममा एकअर्काको मान–सम्मानको ख्याल राख्दै मर्यादित व्यवहार गर्ने, संयुक्त बैठकहरू खाट विधिमार्फत सञ्चालन गर्ने तथा उपभोक्ताको पहिचानसम्बन्धी कार्यलाई अगाडि बढाउँदै फोटोसहित सदस्यता अभिलेख अद्यावधिक गर्ने निर्णय पनि गरिएको छ।
यसका साथै, गैटार–कालीआँप सामुदायिक वनको सिमाना तथा स्रोत परिचालनसम्बन्धी विवाद समाधानका लागि सञ्चालन भइरहेको यो सम्पूर्ण प्रक्रिया २०८३ साल जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसमेत निर्धारण गरिएको छ।
स्थानीय सरोकारवाला तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागितासहित सञ्चालन भइरहेको यस बहुसरोकारवाला संवाद प्रक्रियाले सामुदायिक वन व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र सहकार्यमा आधारित बनाउने अपेक्षा गरिएको छ।

प्रकृया प्रस्ताव पारित भएका वुदाँहरु

१. इन्द्रावती गाउँपालिका न्यायिक समितिको कार्यविधि तथा द्वन्द्व रूपान्तरण केन्द्र नेपालले अबलम्बन गरेको बहुसरोकारवाला विवाद रूपान्तरण प्रक्रिया अनुसार, सबै पक्षको सहमतिमा आपसी संवादको माध्यमबाट सहमति खोज्न हामी सबै पक्ष प्रतिबद्ध रहनेछौं ।
२. हामी सबै पक्षबीच आपसी संवादबाट साझा सवालको पहिचान गरी, सबैको सहमतिमा बस्ने संयुक्त बैठकबाट पारित गरेर उपयुक्त र सर्वमान्य विकल्प पहिचान गरी आपसी सहमति निर्माण गर्दै कार्यान्वयनमा लैजाने छौं ।
३. भेला तथा बैठकहरू आयोजना गर्दा सबैलाई पायक पर्ने सार्वजनिक स्थानमा आयोजना गर्ने छौं । यस्ता भेला तथा बैठकहरूको पूर्व जानकारी चिठी, पत्र र भेटघाटको माध्यमबाट गैटार कालिआँप सामुदायिक वनका सबै उपभोक्ताहरूलाई अग्रिम जानकारी गराईने छ ।
४. प्रक्रियामा काम गर्ने माकुरा समूहका सदस्यहरू तथा सहजकर्ताहरूले सबै काम पारदर्शी रूपमा सञ्चालन गर्ने छन् । कसैलाई पनि कुनै कुरा नलुकाउने र कसैलाई पनि निर्णय प्रक्रियाबाट बञ्चित नगर्ने कुराको सुनिश्चितता गरिनेछ ।
५. सबै पक्षको समान सहभागिताको सुनिश्चितता गर्ने छौं । सबैले आफ्ना भावना र कुराहरू निर्धक्कसँग राख्न पाउने अवसर सिर्जना गरीने छ ।
६. आफूलाई चित्त नबुझेका कुराहरू प्रक्रिया अनुसार आयोजित बैठक तथा संयुक्त बैठकमा विषयवस्तुमा केन्द्रित भएभै स्पष्ट रूपमा राख्ने छौं र चोक–चौतारोमा कसैले पनि अरूको कुरा काट्ने छैनौं ।
७. यो प्रक्रिया सञ्चालन भइरहँदा हरेक पक्षले एकअर्काको मान, सम्मान र प्रतिष्ठाको ख्याल गरी अरूलाई दुःख लाग्ने शब्द प्रयोग नगर्ने र कसैलाई पनि दुःख दिने व्यवहार नगर्ने प्रतिबद्धता जनाउँछौं ।
८. द्वन्द्व (विवाद) रूपान्तरण प्रक्रिया अनुसार गरिने हरेक संयुक्त बैठक सञ्चालन गर्दा सबैलाई समान अवसर दिई खाट विधिबाट सञ्चालन गरिनेछ ।
९. प्रक्रिया अघि बढाउँदै गर्दा उपभोक्ताताहरूको पहिचानको काम पनि सँगसँगै अगाडि बढाई, चुस्त दुरुस्त रूपमा उपभोक्ताको सदस्यताको फोटोसहित रेकर्ड तयार पारिनेछ ।
१०. यो सम्पूर्ण प्रक्रिया २०८३ साल जेठ मसान्तभित्र सम्पन्न गर्ने छौं ।

७ बैशाख २०८३, सोमबार ०७:२१