/*php the_title();*/?>

जनतापत्र,मेलम्ची ३ हैबुङ
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर–३, हैबुङमा अवस्थित श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालयको ६४औँ वार्षिक उत्सव, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ रहनुभएको थियो भने विशेष अतिथि वडा नम्बर–३ का वडा अध्यक्ष कुमार बन्जरा रहनुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सभाध्यक्ष श्याम लामाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा शिक्षा शाखाका प्रमुख, जिल्ला प्रहरी कार्यालय मेलम्ची–१ भोटेचौरका प्रहरी प्रमुख, विभिन्न जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी, अभिभावक, विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी तथा भूतपूर्व विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

उत्सवका अवसरमा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै, विद्यालयमा योगदान पुर्याउने उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको थियो। विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक राजकुमार लामिछानेले प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुतिपछि बोल्दै नगरप्रमुख आइतमान तामाङले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि मेलम्ची नगरपालिकाले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यसै आगामी असारदेखि अर्को वर्षसम्म छात्रावासको व्यवस्था गरिने जानकारी दिँदै टाढा–टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई छात्रावासमा बसेर सहज रूपमा अध्ययन गर्न सकिने वातावरण बनाइने बताउनुभयो।
त्यसैगरी वडा अध्यक्ष कुमार बन्जराले विद्यालयका समस्या समाधानका लागि सबै पक्ष हातेमालो गर्दै एकजुट भएर अघि बढ्ने र छात्रावास लगायत अन्य आवश्यक पूर्वाधार विकासका कामहरू पूरा गरिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।
१२ माघ २०८२, आईतवार १०:१४