हेलम्बु–४ मा सरस्वती माविको ६३औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिका–४, ग्याल्थुमस्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा ३२औँ अभिभावक भेला सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय कृष्णकुमार तामाङ समीरको प्रमुख आतिथ्यता तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै मन्त्री तामाङले २०७८ सालको बाढीपछि जोखिममा परेको मेलम्ची नदी आसपासका संरचना र विद्यालयजस्ता सार्वजनिक सम्पत्तिको संरक्षण तथा पुनर्निर्माण राज्यको साझा दायित्व भएको उल्लेख गर्नुभयो। केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यबाट पुनर्निर्माण कार्य अघि बढाइने उहाँको भनाइ थियो।

साथै, सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालय व्यवस्थापन र शिक्षकको सक्रिय भूमिका निर्णायक हुने बताउनुभयो।
गाउँपालिका अध्यक्ष शेर्पाले हेलम्बुलाई शैक्षिक हवका रूपमा विकास गर्ने लक्ष्य लिएको उल्लेख गर्दै गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध गराई अभिभावकलाई सहर धाउनुपर्ने अवस्था अन्त्य गरिने बताउनुभयो।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए भने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। प्रधानाध्यापक कुमारप्रसाद घोरासैनीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा विद्यालयले प्रमुख अतिथि मन्त्री तामाङसहित पूर्व विद्यार्थी, सेवा निवृत्त शिक्षक तथा पूर्व शिक्षिकालाई सम्मान गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष किटि तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।

२० पुष २०८२, आईतवार १९:३९