हेलम्बु गाउँपालिका–३ स्थित जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिका–३ स्थित जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ। उत्सवको अवसरमा बागमती प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री कृष्णकुमार तामाङले विद्यालयलाई प्रगतिको शुभकामना दिँदै चौतर्फी विकासका लागि हातेमालो गर्दै आएको र आगामी दिनमा पनि सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री तामाङले विद्यालयको समग्र उन्नतिका लागि राजनीतिभन्दा माथि उठेर सबैपक्षीय सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमकै अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक रामगोपाल श्रेष्ठलाई सम्मान गरिएको थियो। सम्मान पश्चात् श्रेष्ठले विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ। यस्तै सरस्वती मावि ग्याल्थुमका पूर्व प्रधानाध्यापक तथा शैक्षिक अगुवा हरिकुमार श्रेष्ठले आफ्ना स्व। मातापिता यदुकुमारी–रूपनारायण स्मृतिमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्दै विद्यालयको हितमा निरन्तर सल्लाह–सुझाव तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिचन्द्र श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। उत्सव विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाइने तामाङको सभापतित्वमा सम्पन्न भएको हो।

२८ पुष २०८२, सोमबार १७:४८