/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिकामा कृषकहरूको उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउने उद्देश्यसहित कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको सहकार्य र जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सुरु गरिएको यो सेवाले स्थानीय कृषकहरूलाई उत्पादनदेखि बिक्री प्रक्रियासम्म प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अनुसार कृषकहरूले उत्पादन गरेपछि ढुवानी साधनको अभावका कारण समयमै बजारसम्म उपज पुर्याउन नसक्ने समस्या लामो समयदेखि भोग्दै आएका थिए। यसकै कारण धेरैपटक कृषि उपज बिग्रने वा उचित मूल्य नपाउने अवस्था सिर्जना हुँदै आएको थियो।

नयाँ सेवा सुरु भएसँगै किसानको खेतबारीबाटै संकलन गरी संकलन केन्द्र, हाटबजार तथा मुख्य बजारसम्म उपज पुर्याउने व्यवस्था मिलाइने बताइएको छ। स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानको आम्दानी बढाउने र व्यवसायिक खेतीतर्फ प्रोत्साहन गर्ने नीति अनुरूप यो सेवा अघि बढाइएको जनाएको छ। यसले स्थानीय उत्पादनको पहुँच विस्तार गर्न र बजारसँगको दूरी घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। त्यसैगरी, जस्ट नेपाल फाउन्डेसनले प्राविधिक तथा संस्थागत सहयोगमार्फत कृषकहरूको क्षमता विकास र सशक्तीकरणमा भूमिका खेलिरहेको बताइएको छ। स्थानीय तह र सहयोगी संस्थाबीचको सहकार्यमा सुरु भएको कृषि एम्बुलेन्स सेवाले हेलम्बु क्षेत्रका कृषकहरूलाई बजारसँग नजिक बनाउँदै स्थानीय उत्पादनको मूल्य र महत्व बढाउने अपेक्षा गरिएको छ।
१९ माघ २०८२, आईतवार १८:१६