/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
जिल्लामा लामो समयदेखि पत्रकारितामा सक्रिय दुई सञ्चारकर्मी यस वर्ष हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। सम्मानित हुनेमा पत्रकार दीपक खत्री र विजय नेपाल रहेका छन्।
अनाथ बालबालिकाको शिक्षा तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्था ले दुवै पत्रकारलाई नगद ५ हजार १०० रुपैयाँसहित सम्मान गरेको हो।

विजय नेपाल खुल्लापाना डटकममा आबद्ध छन् भने दीपक खत्री रेडियो सिन्धुमा कार्यरत छन्।
सोही अवसरमा साहित्य र कवितामार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै आएका कवि राजेन्द्र प्रसाद भट्टराई ‘रापी बसिष्ठ’ तथा शिक्षण पेसामार्फत विद्यार्थी निर्माणमा योगदान पु¥याउँदै आएका कपिलकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। श्रेष्ठ इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक हुन्।
कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्ची–११ मा अध्ययनरत नौ जना छात्र–छात्रालाई वार्षिक छात्रवृत्ति समेत वितरण गरिएको संस्थाले जनाएको छ। शिक्षा, पत्रकारिता, साहित्य र शिक्षण क्षेत्रमा योगदान दिने व्यक्तित्वको कदर गर्दै विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले हरेक वर्ष पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिँदै आएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए।
स्वर्गीय हुतराज र अर्धचन्द्र पाण्डेले उक्त विद्यालयका लागि तीन रोपनी जग्गा दान गरेका थिए। उनीहरूको स्मृतिमा परिवारका सदस्यहरूद्वारा वि.सं. २०६८ मा संस्था स्थापना गरिएको हो। संस्थाले बाढीपहिरो प्रभावित, दृष्टिविहीन, अशक्त, अनाथ तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ।
इन्द्रेश्वरी माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव समारोहको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र पूर्वराज्यमन्त्री इन्द्रमाया गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
२ फाल्गुन २०८२, शनिबार ०६:४२