‘सोसल मिडिया वार’को चपेटामा युवा पुस्ता

नेपाली जनताहरू सडकको विरोध र हुललाई विश्वास गर्ने बानी नै सामाजिक सञ्जाल (सोसल मिडिया)ले पारेको हो । सोसल मिडिया न नियन्त्रणविहीन रहनुपर्छ, न अन्धविरोधको विषय बन्नु । आवश्यकता छ, आलोचनात्मक चेत, तथ्य जाँचको संस्कार र विचारको गहिराइ । युवाले ट्रेन्ड पछ्याउने होइन, ट्रेन्डको कारण बुझ्ने साहस गर्नुपर्छ । अन्यथा, सोसल मिडिया युवाको हातमा औजार होइन, युवामाथि शासन गर्ने शक्ति बन्दै जानेछ ।

गोकुल निरौला
२१औँ शताब्दी सूचना र प्रविधिको युग हो । मानव सभ्यताको इतिहासमा यति तीव्र गतिमा विचार, सूचना र भावनाको आदान–प्रदान कहिल्यै भएको थिएन । इन्टरनेट र सोसल मिडियाले संसारलाई एउटा ‘ग्लोबल भिलेज’मा रूपान्तरण गरेको छ ।

तर यही प्रविधिले आज विश्वभर ‘सोसल मिडिया वार’ अर्थात् सूचना, भ्रम, भावनात्मक उत्तेजना र डिजिटल ध्रुवीकरणको युद्ध जन्माइरहेको छ । यसको सबैभन्दा ठुलो प्रभाव युवा पुस्तामा परेको देखिन्छ । इन्टरनेटले आन्दोलनलाई छिटो फैलायो, तर उथलपुथल र भ्रम पनि बढायो । नेपाली समाजमा सोसल मिडिया अब सूचना आदान प्रदानको साधन मात्र रहेन, यो सोच निर्माण गर्ने कारखाना बनेको छ । विशेषतः युवा पुस्ताको राजनीतिक चेत, सामाजिक धारणा र मूल्य मान्यता सोसल मिडियाले निर्देशित गर्न थालेको छ । समस्या प्रविधिमा होइन, यसको अनियन्त्रित प्रयोग र आलोचनात्मक चेतनाको अभावमा छ ।

उदाहरणका रूपमा बालेन साहको प्रचारदेखि जेनजी आन्दोलनसम्म लिन सकिन्छ । हालै नेपालमा देखिएको बालेन साहको राजनीतिक उदय र जेनजी आधारित आन्दोलन सोसल मिडियाको प्रत्यक्ष उपज हुन् । बालेन साहको चुनावी सफलता सोसल मिडियाको प्रभावशाली प्रयोगको उदाहरण हो । उनले परम्परागत दलहरूको संरचना, खर्च र भाषण संस्कृतिलाई चुनौती दिए । तर यहाँ एउटा प्रश्न उठ्छ के सोसल मिडियामा सफल हुनु नै दीर्घकालीन राजनीतिक विकल्प हो ? प्रचारमा सफलता र शासनमा सफलता सधैँ समान हुँदैनन् । यो अन्तर बुझ्न नसक्दा युवा भावनात्मक समर्थनमा अल्झिने खतरा रहन्छ ।

टिकटक, फेसबुक र युट्युबबाट लोकप्रियता बढाएर परम्परागत दलहरूको आलोचना भावनात्मक र प्रतिकात्मक राजनीति यसले पुराना दलहरूलाई अप्रासंगिक देखाइरहेको छ । नेपाली राजनीतिक इतिहास त्याग, बलिदान र संघर्षले भरिएको छ । तर सोसल मिडियामा त्यो इतिहास अध्ययनको विषय होइन, उपहासको सामग्री बनेको छ । पुराना दलका कमजोरी उजागर हुनु आवश्यक थियो, तर उपलब्धि पूर्णरूपमा मेटिनु बौद्धिक अन्याय हो । इतिहासलाई नकारेर नयाँ विकल्प खोज्नु विवेक होइन, आवेग हो । पुराना राजनीतिक दल किन गलत सावित हुँदै छन् ? भन्ने प्रश्न सोसल मिडियामै भए पनि कसैले उठाएनन् ।

डिजिटल भाषामा असफल युवाको मनोविज्ञान नबुझ्ने र पुरानो शैलीको प्रचार जबाफदेहीता अभाव देखियो । सोसल मिडियामा ट्रेन्ड भएको एउटै भिडियोले वर्षौंको राजनीति ध्वस्त गर्न सक्छ । उदाहरणका लागि केही दिन पहिले भएको जेनजी आन्दोलनलाइ लिन सकिन्छ । सोसल मिडियामा सत्यभन्दा उत्तेजना बिक्छ । तथ्यभन्दा भावना छिटो फैलिन्छ । यही कारण यहाँ बहस होइन, हल्ला चल्छ; विश्लेषण होइन, आरोप बिक्छ । युवालाई जटिल विषय बुझ्नुभन्दा छोटो भिडियो र कडा नारा सजिलो लाग्न थालेको छ । फलस्वरूप, गलत सूचना बारम्बार दोहोरिँदा त्यसैलाई सत्य ठान्ने मानसिकता विकसित हुँदै छ । सोसल वारमा परेर युवाहरूले विवेक गुमाएको उदाहरण प्रसस्तै छन् ।

अब कुरा सुरु गरौँ इन्टरनेट कहिले सुरु भयो भन्ने । इन्टरनेटको उत्पत्ति शुद्ध रूपमा नागरिक सुविधा होइन, सैन्य आवश्यकताबाट भएको हो । सन् १९६० को दशकमा शीतयुद्ध उत्कर्षमा थियो । अमेरिका र सोभियत संघबीच आणविक युद्धको सम्भावना बढ्दै गइरहेको अवस्थामा, अमेरिकाले आफ्नो सञ्चार प्रणाली सुरक्षित राख्ने उपाय खोजिरहेको थियो । सन् १९६९ मा अमेरिकाको रक्षा मन्त्रालय अन्तर्गतको संस्थाले एडभान्स रिसर्च प्रोजेक्ट नामक नेटवर्क विकास ग¥यो । यसको उद्देश्य कुनै एक केन्द्र ध्वस्त भए पनि सम्पूर्ण नेटवर्क सञ्चालनमै रहोस् । यही संस्था तथा प्रविधि नै आधुनिक इन्टरनेटको आधार बन्यो ।१९८० को दशकमा विश्वविद्यालय र अनुसन्धान संस्थामा फैलियो । सन् १९९० पछि वल्र्ड वाइड वेभ (डब्लुडब्लुडब्लु) को विकाससँगै सर्वसाधारणसम्म पुग्यो । सन् २००० पछि इन्टरनेट सामाजिक, आर्थिक र राजनीतिक जीवनको अभिन्न अंग बन्यो ।

नेपालमा इन्टरनेट ढिलो भित्रियो तर प्रभाव तीव्र रह्यो

२०५१ सालमा पहिलोपटक इमेल सेवा, २०५४ सालतिर सर्वसाधारणका लागि इन्टरनेट सेवा प्रदायक मर्कन्टाइल अफिस सिस्टमले नेपालमा पहिलो आइएसपीको भूमिका खेलेको थियो । सुरुआतमा शैक्षिक र संस्थागत प्रयोजनमै सीमित इन्टरनेट आज गाउँगाउँसम्म फैलिएको छ । इन्टरनेटले सकारात्मक प्रभावभन्दा नकारात्मक प्रभावको बढी प्रचार हुने गरेको छ । हुन त इन्टरनेट सुरुभएपछि जनताहरूमा ज्ञानमा पहुँच, शिक्षा, स्वास्थ्य र व्यापारमा क्रान्ति भने नभएको होइन । इन्टरनेटको गलत प्रयोगले गर्दा साइबर अपराध, मानसिक स्वास्थ्य समस्या, डिजिटल असमानता बढ्दै गएको छ ।

इन्टरनेट अब केबल प्रविधि होइन, सत्ता बन्न पुगेको छ । नकारात्मक कुरा बढी प्रचारमा आएरै विश्वका विभिन्न देशमा सोसलसाइट बन्द भएका छन । उदाहरण नै लिने हो भने चीनमा सबै प्रमुख सोसल मिडिया प्रतिबन्धित गरिएको छ भने इरानमा फेसबुक, इन्स्टाग्राम भारत टिकटक र रूसमा फेसबुक, इन्स्टाग्राम बन्द गरिएका छन् । नेपालमा सोसल मिडियाले नै युवाहरू गलत बाटो अपनाइरहेका छन । दिनको ६, ८ घण्टा स्क्रिन डोपामिनको लतले डिप्रेसन पीडित युवा पुस्ता सूचना होइन, उत्तेजना खोजिरहेको छ । इन्टरनेटले नेपाली युवाहरूमा एक खालको मनोविज्ञान पैदा गरिसकेको छ ।

आजको युवा प्रश्न गर्नभन्दा सेयर गर्न छिटो छ । ‘सबैले भनेको सही’ भन्ने मानसिकताले विवेकलाई विस्थापित गरेको छ । वास्तविकता जटिल हुन्छ, तर भिड सरल उत्तर खोज्छ । सोसल मिडियाले यही सरलता बेचिरहेको छ । यसले युवालाई सचेत नागरिक होइन, डिजिटल समर्थकमा सीमित गरिदिएको छ । चुनाव हुनुभन्दा पहिलै जनताको मनोभावना अलग मोडिएको छ । इतिहास, संघर्ष, व्याक्तित्व नहेरेरै पुराना दलबाट जो सुकै उम्मेदवार बने पनि गालिगलौजमा उत्रिन थालेका छन् ।

आजको राजनीतिमा नीति, कार्यक्रम र दीर्घकालीन दृष्टिकोणभन्दा एल्गोरिदमअनुकूल सामग्री महत्वपूर्ण बनेको छ । को कति भाइरल भयो भन्ने मापनले नेता सक्षम कि असक्षम भन्ने निष्कर्ष निकाल्न थालिएको छ । यसले लोकतन्त्रलाई विचारको प्रतिस्पर्धाबाट लोकप्रियताको प्रतिस्पर्धातर्फ धकेलेको छ, जुन दीर्घकालमा खतरनाक संकेत हो । यो सोसल मिडियाले भित्र्याएको मानसिक रोग हो । केही दिनपछि हुन लागेको निर्वाचनमा पनि बालेन–रवि पुरानै जुक्ति अपनाउँछन् र सोसल मिडियालाई प्रयोगमा ल्याउँछन् । पुराना दललाई नराम्रो देखाउँदै अघि बढ्छन् । सोसल मिडियाले नेपालको अवस्थालाई हेरेर जनताले रुचाएको आक्रोशलाई बुस्ट गरिदिन्छ र जनतामा विश्वास पैदा गरिदिन्छ ।

नेपाल मात्र होइन, विश्वभर नै युवा पुस्ता मानसिक तनाव, बेरोजगारी, पारिवारिक दबाब र सामाजिक तुलनाको भारमा थिचिएका छन् । उनीहरू सामाजिक सञ्जालमा अरूको झुटो जीवनसँग आफ्नो वास्तविकता तुलना गर्दै आत्मग्लानी र हीन भावना पालिरहेका छन् । परिणामस्वरूप, आत्महत्या, मादक पदार्थको दुरुपयोग, अपराधमा संलग्नता र मानसिक रोग दिनदिनै बढ्दो क्रममा छ । यस्तो अवस्थामा उनीहरूलाई केबल शिक्षा दिएर पुग्दैन, उनीहरूलाई मानसिक रूपमा सशक्त बनाउनुपर्छ । सकारात्मक सोचमा आधारित जीवन सीपको प्रशिक्षण अहिलेको यथार्थ आवश्यकता हो ।

सकारात्मक सोचले आत्मविश्वासको विकास गराउँछ । उनीहरू असफलतालाई पनि सिकाइको अवसरका रूपमा लिन्छन् । यसले मानिसलाई संकटमा अवसर देख्ने क्षमताको विकास गराउँछ । संकटमा रुने होइन, अवसरमा रूपान्तरण गर्ने सोच युवामा विकास हुन्छ । व्यक्तिको नेतृत्व विकासमा पनि यसले मद्दत गर्दछ । सकारात्मक सोच भएका युवा नेतृत्वको क्षमतामा अगाडि बढ्छन् । उनीहरू समस्या समाधानकर्ता बन्छन्, गुनासो गर्ने होइन । यदि युवामा सकारात्मक सोच विकास गरियो भने, उनीहरू केबल आफ्नै जीवन सुधार्न सक्ने होइनन्, समाज र राष्ट्रको निर्माणमा पनि महत्वपूर्ण योगदान दिन सक्नेछन् । त्यसैले आजको आवश्यकता भनेको युवालाई सही दिशामा सोच्न प्रेरित गर्नु हो ।

नेपाली जनताहरू सडकको विरोध र हुललाई विश्वास गर्ने बानी नै सोसल मिडियाले पारेको हो । सोसल मिडिया न नियन्त्रणविहीन रहनुपर्छ, न अन्धविरोधको विषय । आवश्यकता छ, आलोचनात्मक चेत, तथ्य जाँचको संस्कार र विचारको गहिराइ । युवाले ट्रेन्ड पछ्याउने होइन, ट्रेन्डको कारण बुझ्ने साहस गर्नुपर्छ । अन्यथा, सोसल मिडिया युवाको हातमा औजार होइन, युवामाथि शासन गर्ने शक्ति बन्दै जानेछ ।

इन्टरनेट र सोसल मिडिया न त पूर्णरूपमा शत्रु हुन्, न त पूर्णरूपमा मित्र । यो हतियार हो जसलाई जसरी प्रयोग गर्यो, त्यसैअनुसार परिणाम आउँछ । आजको चुनौती प्रविधि होइन, मानव चेतना हो । यदि युवा पुस्तालाई सही दिशामा डो¥याउन सकिएन भने, सोसल वारले समाजलाई गहिरो विभाजनतर्फ लैजान सक्छ । तर विवेक, नीति र जिम्मेवारीका साथ प्रयोग गर्न सकियो भने यही प्रविधि परिवर्तनको बलियो माध्यम बन्न सक्छ ।( सौर्य दैनिकबाट साभार)

१४ माघ २०८२, मंगलवार ०६:१५