/*php the_title();*/?>

जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक ।
सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाले आफ्नो २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले सुर्यमुखी सहकारीलाई बागमती प्रदेशकै उदाहरणीय सहकारीको रूपमा उल्लेख गर्नुभयो। सहुलियत ऋण र कृषिमैत्री कार्यक्रमका कारण किसानको आयआर्जनमा सुधार आएको उहाँको भनाइ थियो। उहाँले नियमित बचत र उत्पादनमा आधारित सहकारी गतिविधिलाई अझ सशक्त बनाउन आग्रह गर्नुभयो। नगरपालिकाले कृषक लक्षित अनुदान, तालिम, पशुपालन तथा नगदेबाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले आगामी बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिइने बताउनुभयो। तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।

सहकारीका अध्यक्ष चौलागाईंले सहकारीले दूध संकलन तथा डेरी प्रवर्द्धनमा लगानी गरिरहेको र स्थानीय उत्पादनको बजार व्यवस्थापन काठमाडौँसम्म विस्तार गरिएको जानकारी दिनुभयो। सहकारी नाफामुखी मात्र नभई सदस्यको जीवनस्तर सुधार गर्ने संस्थाका रूपमा अघि बढिरहेको उहाँको भनाइ थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधि, सहकारीकर्मी तथा समाजसेवीहरूले शुभकामना व्यक्त गर्दै सहकारीले स्थानीय रोजगारी सिर्जनामा खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। साधारणसभामा आर्थिक, प्रगति र लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो। हाल सहकारीमा २ हजार ९३७ जना शेयर सदस्य आबद्ध छन्। कार्यक्रममा उत्कृष्ट बचतकर्ता, समूह तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव अनिलकुमार थापाले गर्नुभएको थियो।
१९ पुष २०८२, शनिबार १८:२९