/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
“सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता” भन्ने मूल नारासहित सिन्धुपाल्चोकको चौतारामा विश्व उपभोक्ता अधिकार दिवस २०८२ विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कार्यक्रमका अध्यक्ष त्रिपुरारी बख्रेल, चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष ओझार सिंह तामाङ, उपभोक्ता महासंघका पदाधिकारीहरू, सञ्चारकर्मी, सरकारी निकायका प्रतिनिधि तथा स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा उपभोक्ता र विक्रेताबीच वस्तु तथा सेवाको उपलब्धता, गुणस्तर तथा पारदर्शिताबारे छलफल गरिएको थियो। सहभागीहरूले उपभोक्ताले आफ्नो अधिकारबारे सचेत भई त्यसको प्रयोग र संरक्षणमा सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रमका अध्यक्ष त्रिपुरारी बख्रेलले उद्योग वाणिज्य संघको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बजार अनुगमन, खाद्य सामग्रीको व्यवस्थापन तथा म्याद गुज्रिएका वस्तु नष्ट गर्ने कार्यलगायतका गतिविधिबारे जानकारी गराउनुभयो। बजार अनुगमनका क्रममा देखिएका समस्या तथा चुनौतीलाई समाधान गर्न सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो। त्यसैगरी वडा अध्यक्ष शिव श्रेष्ठले उपभोक्ताको अधिकार संरक्षणका लागि सरोकारवाला सबै पक्षले समन्वय र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपभोक्ता अधिकारको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायहरूले आफ्नो दायित्व कडाइका साथ पालना गर्नुपर्ने धारणा राख्नुभयो।
१ चैत्र २०८२, आईतवार १८:४८