सुनकोशीमा बस दुर्घटना, ३ नाबालकसहित २० जना घाइते

जनतापत्र,सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मंगलबार साँझ भएको बस दुर्घटनामा ३ नाबालकसहित २० जना घाइते भएका छन् ।रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ गइरहेको बा।प्र।०३–००१ ख २५२१ नम्बरको बस साँझ करिब ४ बजेर २५ मिनेटमा सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनापछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा सात जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । टोलीले घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको र कसैलाई गम्भीर चोटपटक लागेको छैन । प्रारम्भिक अनुसन्धानअनुसार बस तीव्र गतिमा रहेकाले अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

२१ आश्विन २०८२, मंगलवार २०:३२