सुकुटेमा नेकपा एमाले सिन्धुपाल्चोक सचिवालय बैठक सम्पन्न

विकास बजेट, सांगठानिक सुदृढीकरण र स्थानीय गुनासोका विषयमा छलफल

जनतापत्र, सिन्धुपाल्चोक | असार १३:
नेकपा एमाले सिन्धुपाल्चोकको सचिवालय बैठक शुक्रबार सुकुटेमा सम्पन्न भएको छ। बैठकमा जिल्लाका विकास बजेट, सांगठानिक सुदृढीकरण, पार्टी नविकरण र विभिन्न स्थानीय मुद्दाका विषयमा गहन छलफल भएको सचिवालय सदस्य शेरबहादुर श्रेष्ठले जानकारी दिए।

बैठकमा बाह्रबिसे नगर अधिवेशन लामो समयअघि उद्घाटन भइसकेको भए पनि नेतृत्व चयन प्रक्रिया अझै अधुरो रहँदा चासो व्यक्त गरिएको थियो। उक्त अधिवेशनको नेतृत्व चयन प्रक्रिया छिट्टै निष्कर्षमा पुर्‍याउने निर्णय गरिएको श्रेष्ठले बताए।

त्यसैगरी, पाँचपोखरी थाङपाल गाउँपालिकामा केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको नयाँ भवन उद्घाटन गर्दा त्यहाँको मुख्य सडक छिट्टै पिच गरिने प्रतिवद्धता जनाएका थिए। तर, हालसम्म उक्त प्रतिवद्धता कार्यान्वयनमा नआएकोप्रति स्थानीयस्तरबाट गुनासो आएको र सचिवालय बैठकमा उक्त विषयलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने निष्कर्ष निकालिएको हो।

बैठकमा पार्टी नविकरण र संगठन सुदृढीकरणका विषयमा समेत विस्तृत छलफल भएको थियो। साथै, जिल्लाभित्रका केही विकास योजनाहरुलाई पार्टीका तर्फबाट अगाडि बढाउने विषयमा पनि निर्णय गरिएको श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकमा जिल्लास्तरका पार्टी नेताहरुको उपस्थिति रहेको थियो।

१३ असार २०८२, शुक्रबार १७:३४