सुकुटेमा गुण्डागर्दीको बढ्दो त्रास, व्यवसायीहरुद्धारा सुरक्षाको माग

जनतापत्र, सिन्धुपाल्चोक ।
चर्चित पर्यटकीय क्षेत्र सुकुटे पछिल्ला दिनमा गुण्डागर्दीका घटनाले अशान्त बन्दै गएको छ। भदौ ६ गते राति सुकुटे बीच रिसोर्टमा भएको आक्रमणपछि व्यवसायी संघका अध्यक्ष तथा सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले स्थानीय व्यवसायीहरूले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने मागसहित जिल्ला प्रहरी कार्यालय चौतारामा ध्यानाकर्षण पत्र बुझाएका छन्।
संघका सचिव कृष्ण सापकोटाका अनुसार, भदौ ६ गते राति करिब १०: ४५ बजे गुण्डाहरुको समूह रिसोर्टको गेट तोड्दै भित्र पसेर कर्मचारी सुरेन्द्र केसी ३८ वर्ष लाई निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते भएका केसीलाई तत्काल खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल हुँदै थप उपचारका लागि काठमाडौं लगिएको हो।घटनामा वलेफी गाउँपालिका–५ का लिला गिरी, कमल श्रेष्ठ, गणेश श्रेष्ठ, देव केसी, रञ्जित श्रेष्ठ, सुशील तामाङ र श्रृजन कार्की संलग्न रहेको आरोप लगाइएको छ। रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले सो घटनापछि प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन्। सिन्धु–सुकुटे पर्यटन व्यवसायी संघका पदाधिकारीहरूले करिडोर क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि निरन्तर कार्यक्रम गर्दै आएका भए पनि पछिल्ला घटनाले व्यवसायीलाई आतङ्कित बनाएको बताएका छन्।
व्यवसायीहरूको भनाइमा, होटल तथा रिसोर्टहरूले स्थानीयदेखि केन्द्रीय सरकारसम्म लाखौँ रुपैयाँ कर बुझाउँदै आएका छन्। तर सुरक्षाको प्रत्याभूति नभएकाले सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न नसकेको उनीहरूको गुनासो छ।

९ भाद्र २०८२, सोमबार १२:२३