/*php the_title();*/?>
२४ हजार ४१२ मत प्राप्त गर्दै जीत हासिल
टीका सुवेदी , सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत पराजुली विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार उनले २४ हजार ४१२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उक्त निर्वाचन क्षेत्रमा पराजुलीका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। मतगणनाको सुरुवातदेखि नै यी दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको थियो।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार सरेश नेपाल तेस्रो स्थानमा रहेका छन्। उनले कुल ११ हजार ९६१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा एमालेले विगतका निर्वाचनहरूमा प्रभाव राख्दै आए पनि यसपटक अपेक्षित मत परिणाम ल्याउन सकेन।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामाले ११ हजार २९३ मत प्राप्त गरेका छन्। कांग्रेसका जिल्ला सभापति समेत रहेका लामा यस निर्वाचनमा चौथो स्थानमा सीमित भएका हुन्।
मत परिणाम सार्वजनिक भएसँगै सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा नयाँ राजनीतिक सन्देश गएको विश्लेषण गरिएको छ। यसपटक मतदाताले नयाँ विकल्पतर्फ आकर्षण देखाएको टिप्पणी स्थानीय स्तरमा गरिएको छ।
निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ। मतगणना सम्पन्न भएपछि विजयी उम्मेदवार पराजुलीलाई समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।
विजयी भएपछि पराजुलीले मतदाताले व्यक्त गरेको विश्वासलाई सम्मान गर्दै क्षेत्रको विकास, सुशासन र जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबै पक्षलाई साथमा लिएर सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ को समग्र विकासका लागि काम गर्ने बताएका छन्।
२४ फाल्गुन २०८२, आईतवार ०७:१६