सिन्धुपाल्चोकका स्वास्थ्य शाखा फोकल पर्सनका लागि PAMS V2 विषयक दुई दिने तालिम सम्पन्न

जनतापत्र, सिन्धुपाल्चोक

जिल्लाभरीका स्वास्थ्य शाखाका फोकल पर्सन र स्टोर व्यवस्थापन जिम्मेवारी स्थायी गर्ने स्वास्थ्यकर्मीका लागि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS V2) सम्वन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ। यो तालिम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा फेयरमेड फाउन्डेसन तथा महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा गरिएको हो। जिल्लाका १२ वटै स्थानीय तहबाट स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य सामग्री भण्डारण–व्यवस्थापनका फोकल पर्सनहरूले सहभागीता जनाएका थिए।

उद्घाटन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले सीमित बजेटका बाबजुद तालिम सञ्चालन गर्न सफल भएको बताए। उनले PAMS V2 ले जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि तथा सामग्री व्यवस्थापन सहज र व्यवस्थित हुने अपेक्षा व्यक्त गर्दै सिकेका विषय व्यवहारमै लागू गर्न आग्रह गरे। उनका अनुसार संघ सरकारले हालै बागमती प्रदेशमार्फत तालिम श्रृंखला सुरु गरेकामा जिल्लामा पनि निरन्तर तालिम विस्तारका लागि पहल गर्ने प्रतिबद्धता कार्यालयले जनाएको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले सिकाइको प्रभावकारी उपयोग गर्दै सीप अरू स्वास्थ्यकर्मीहरूसँग पनि साटासाट गर्न आग्रह गरे।तालिम मुख्य प्रशिक्षकका रूपमा प्रेम अधिकारी र केदार उप्रेतीले सहजीकरण गरेका थिए। त्यस्तै, महिला आत्मनिर्भरता केन्द्र (मांक) की अध्यक्ष सञ्चमाया स्याङ्बोले सीप उपयोगमा जोड दिँदै संस्था सहयोगका लागि सधैं तयार रहेको बताइन्।

२७ मंसिर २०८२, शुक्रबार ११:३५