सिन्धुपाल्चोक जिल्ला अदालतद्वारा मुद्दा फछ्र्यौट दरमा उल्लेखनीय सुधार, ८५५ मुद्दा समाधान

आईसिँ तामाङ, चौतारा सिन्धुपाल्चोक ।
न्याय क्षेत्रमा लामो समयदेखिको ढिलासुस्ती र पहुँचको अभावबीच सिन्धुपाल्चोक जिल्ला अदालतले पछिल्लो आर्थिक वर्षमा उदाहरणीय सुधार देखाएको छ। सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷८२ मा दर्ता भएका कुल १०५५ मुद्दामध्ये ८५५ मुद्दा फछ्र्यौट गर्दै अदालतले ८१.०४ प्रतिशत फछ्र्यौट दर हासिल गरेको छ। अघिल्लो वर्षको ७३.०३ प्रतिशत दरको तुलनामा यो प्रगति न्याय प्रशासनप्रति नागरिकको विश्वास बढाउने संकेतको रूपमा लिइएको छ। झन्झटिलो, ढिलो र खर्चिलो न्याय प्रणालीको आलोचना भइरहँदा अदालतले देखाएको सुधार आफैमा महत्वपूर्ण उपलब्धि हो । विशेष गरी ढिलो फछ्र्यौट हुँदै आएका दीर्घकालीन मुद्दाहरूमा ठोस प्रगति भएको देखिन्छ। दुई वर्षे, १८ महिना नाघेका र बालबालिका प्रतिवादी मुद्दा ‘शून्य’मा झारिएको छ, भने एक वर्ष नाघेका मुद्दा ११ थान मात्र रहेका छन्। यद्यपि, जरिवाना असुलीमा भने चुनौती कायमै छ। अदालतले ८० करोड ९८ लाख जरिवाना तोकेकोमा जम्मा ९.५ प्रतिशत अर्थात ७ करोड ६९ लाख मात्रै असुल भएको छ। विशेषतः विदेशी नागरिकहरूसँग सम्बन्धित जरिवाना उठानमा समस्या देखिएको अदालतको भनाइ छ। न्यायलाई छरितो, निष्पक्ष र जनमैत्री बनाउने लक्ष्यसहित अदालत अगाडि बढिरहेको भन्दै बाँकी रहेका चुनौती समाधान गर्न रणनीति तय भइरहेको समेत प्रतिवेदनमा उल्लेख छ।

२ श्रावण २०८२, बिहीबार १२:२४