/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटे क्षेत्रलाई केही समयअघि मात्र नगरपालिकाले औपचारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरेको थियो। प्राकृतिक सौन्दर्य, नदी किनार र बगर क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको उक्त निर्णयप्रति स्थानीयस्तरमा आशा र उत्साह दुवै देखिएको थियो। तर, घोषणा भएको केही समय नबित्दै सुकुटे क्षेत्रमै पुनः अनियन्त्रित रूपमा बगर उत्खनन सुरु भएको छ।

नदी किनारबाट बालुवा र ढुंगा निकाल्ने गतिविधि तीव्र बनेसँगै स्थानीयवासी, सरोकारवाला तथा विभिन्न समूहहरूबाट तीव्र विरोध सुरु भएको छ। पर्यटन क्षेत्र घोषणा गर्दा प्राकृतिक स्रोतको संरक्षण गर्ने, अवैज्ञानिक उत्खनन पूर्ण रूपमा नियन्त्रण गर्ने र दिगो विकासको मार्ग अपनाउने प्रतिबद्धता जनाइएको थियो। तर व्यवहारमा भने सोही प्रतिबद्धता विपरीत गतिविधि दोहोरिनु नगरपालिकाको निर्णय र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खडा भएको छ।

स्थानीयवासीहरू यस अवस्थाप्रति आक्रोशित छन्। उनीहरू भन्छन्, “पर्यटन क्षेत्र घोषणा गरेर ठूला भाषण गर्ने, तर केही समयमै त्यही क्षेत्रको प्राकृतिक स्रोत दोहन सुरु गर्ने प्रवृत्ति अत्यन्तै लज्जास्पद हो।” उनीहरूले तत्काल उत्खनन रोक्न, दोषीमाथि कारबाही गर्न र पारदर्शी अनुगमन प्रणाली लागू गर्न माग गरेका छन्। यसैबीच, नियमनकारी सरकारी निकायहरूको मौनता झनै शंकास्पद बनेको छ। यस्तो संवेदनशील विषयमा सम्बन्धित निकायहरूको उदासीनता, स्थानीय आवाजप्रति बेवास्ता र प्रकृति दोहनप्रति अप्रत्यक्ष सहमति झल्किएको आरोपसमेत लाग्न थालेको छ।

यदि समयमै यस गतिविधिलाई नियन्त्रण गरिएन भने, सुकुटेको पर्यटन सम्भावना मात्र होइन, दीर्घकालीन रूपमा वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पर्ने निश्चित छ। यसले बाढी, भू–क्षय र जैविक विविधतामा नकारात्मक प्रभाव पार्न सक्ने विज्ञहरूको चेतावनी छ। अब प्रश्न उठेको छ—घोषणा मात्रै गर्ने कि संरक्षण र व्यवस्थापनमा पनि त्यत्तिकै गम्भीर बन्नेरु सम्बन्धित निकायहरूले समयमै जिम्मेवारी नलिने हो भने सुकुटेमा जनआक्रोश थप चर्किने देखिन्छ।
११ चैत्र २०८२, बुधबार १८:४२