सिन्धुपाल्चोक जिल्लाको चौसागढी नगरपालिकाद्धरा सुकुटे क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा

जनतापत्र,सुकुटे ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटे क्षेत्रलाई शनिवारबाट पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सुकुटेमा आयोजित एक कार्यक्रमका विचमा सुकुटे करिडोर क्षेत्रलाई औपचारिक रुपमा पर्यटकी क्षेत्र घोषणा गर्नु भएको हो ।
सुकुटे क्षेत्रलाई प्रमुख गन्तव्य मानेर शनिबारबाट घोषणा गरिएको र नगरपालिकाका अन्य वडाका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरुलाई पनि समेटेर घोषणा गर्दै जाने योजना रहेको सापकोटाको बताउनु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ९ ,१०,११ र १२ लाई समेटेर पर्यटकीय क्षेत्र घोषणा गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनु भएको हो ।
सुकुटेमा हाल नदी किनारको रमणीय वातावरण, रिसोर्ट सेवा, पहुँचयोग्य भौगोलिक स्थिति, र्याफ्टिङ र विविध मनोरञ्जनात्मक गतिविधिहरूका कारण लोकप्रिय गन्तव्यको रूपमा स्थापित बनीसकेको छ ।
प्रमुख अतिथि अग्नि प्रसाद सापकोटाले सुकुटे क्षेत्रलाई औपचारिक रुपमा पर्यटकीय क्षेत्र घोषणा गरेसगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी सन्देश जाने समेत बताउनु भएको छ ।
अरनिको राजमार्गसँगै सुनकोसी नदीको किनारमा अवस्थित सुकुटे क्षेत्र पर्यटकहरूका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यको रूपमा विकास हुँदै गइरहको छ । हालसम्मा सुकुटे करिडोरमा दुई दर्जन रिसोर्ट तथा पर्यटन सेवाप्रदायक संस्थाहरू सञ्चालनमा रहेका छन्।
उक्त सभामा नेकपा माओवादी केन्द्रका पूर्व भौतिक पुर्वधार विकास मन्त्री युवराज दुलाल, नेपाल सरकारका पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले मन्तव्य राख्नु भएको थियो ।

६ बैशाख २०८२, शनिबार १७:१७