सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् बन्द

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकस्थित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको उत्पादन चार दिनदेखि बन्द भएको छ ।
जेन्सी ग्रुपको नाममा स्थानीय युवाहरुले पत्र लेखेर आयोजनामा १० प्रतिशत शेयर निःशुल्क पाउनु पर्ने भन्दै दबाब दिएपछि जलविद्युत आयोजना बन्द भएको हो । जेनजीको नाममा १० प्रतिशत शेयर नदिएसम्म आफूहरुले नछाड्ने अडान राखेर गत शुक्रबारदेखि केही स्थानीय युवाहरु पावर हाउसभित्रै सुतिरहेका छन् ।
त्यति मात्र होइन, जेन जी गु्रपकै नाममा भोटेकोशी १ जलविद्युत आयोजनाको भौतिक संरचनामा क्षति पु¥याएकाले गत केहिदिनदेखि आयोजनाको निर्माण कार्य नै अवरुद्ध भएको छ । यसअघि, २०७१ सालमा सिन्धुपाल्चोकका राजनीतिक दल र आयोजनाबीच स्थानीयलाई ६ प्रतिशत शेयर दिने लिखित सहमति भएको थियो । उक्त निर्णय कार्यान्वयन नभएको भन्दै अहिले जेन–जी ग्रुपको नाममा पत्राचार गरेर थप ४ प्रतिशतसमेत गरेर जेनजीको नाममा १० प्रतिशत शेयर माग गरेर आन्दोलित भएका छन । जेन–जी ग्रुपको नाम दिएर जलविद्युत आयोजना बन्द गर्ने युवाहरु विभिन्न राजनीतिक दलमा आवद्ध कार्यकर्ता रहेका छन् ।
आयोजना र राजनीतिक दलहरुबीच त्यसबेला भएको सम्झौताभन्दा कम शेयर दलका नेताहरुलाई उपलब्ध गराई आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई शेयर दिनबाट बंचित गराएका थिए । प्रभावित क्षेत्रका वासिन्दालाई उपलब्ध गराउने भनिएको शेयर नपाएपछि यतिखेर स्थानीय युवाहरु जेनजीको नाममा आन्दोलित भएका छन ।
भोटेकोशी कम्पनीका अनुसार भोटेकोशी गाउँपालिकाका पदमबहादुर श्रेष्ठ, वीरबहादुर तामाङ, अमृत श्रेष्ठ, मेवाङ शेर्पा, टसी शेर्पा, अर्जुन कार्की, ङासाङ्बु शेर्पा, काल्देन शेर्पालगायतका समूहले जेनजी गु्रपको नाममा यस्तो दबाब दिइरहेका छन ।
स्थानीयबाट असुरक्षा हुनसक्ने भन्दै कर्मचारीले उत्पादन बन्द गरेर काठमाडौं फर्केपछि विद्युत आयोजनालाई अहिले सेनाको सुरक्षामा राखिएको छ ।

३० भाद्र २०८२, सोमबार ०६:३६