सिन्धुपाल्चोकमा सामाजिक कुरीति विरुद्ध वक्तृत्वकला प्रतियोगिता

जनतापत्र,सिन्धुपाल्चोक ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा “सामाजिक कुरीति र अन्धविश्वास न्यूनीकरणमा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाभरका १२ वटै स्थानीय तहका विद्यालयबाट सहभागी १९ जना विद्यार्थीमध्ये हेलम्बु गाउँपालिकास्थित इष्टप्वाइन्ट एकेडेमीकी अविश्री खड्का प्रथम हुन सफल भएकी छन् । विषयवस्तुको गहिरो विश्लेषण र प्रभावशाली प्रस्तुतीका कारण उनले निर्णायकहरूको ध्यान आकर्षित गरेकी थिइन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मिता भारती द्वितीय, मेलम्ची नगरपालिकास्थित प्रगति बोर्डिङ माध्यमिक विद्यालयकी युनिका थापा तृतीय, चौतारा साँगाचोकगढी नगरपालिकाकी रेनुका तामाङ चतुर्थ तथा जालपादेवी माध्यमिक विद्यालयकी विनु तिमिल्सिना सान्त्वना स्थानमा रहिन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूले क्रमशः १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार वितरण जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख वालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल लगायतका अतिथिहरूले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले विद्यार्थी समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै सामाजिक कुरीति र अन्धविश्वास अन्त्यमा उनीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, सहभागी विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

१७ पुष २०८२, बिहीबार २०:३८