/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक । — पटक–पटक प्राकृतिक विपद्को जोखिम झेल्दै आएको सिन्धुपाल्चोक जिल्ला मा “विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड” लाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले पूर्वतयारीलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी सहभागी भएका थिए। कार्यक्रममा विपद् आउनुअघि आवश्यक तयारी, स्रोत व्यवस्थापन तथा विभिन्न तहबीच समन्वय कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र का उपसचिव निमेशराज गौतम ले विपद् व्यवस्थापनलाई केवल घटनापछिको प्रतिक्रिया रूपमा नहेरी जोखिम पहिचान, पूर्वतयारी र योजनाबद्ध व्यवस्थापनमार्फत प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। उनले जोखिम नक्सांकन, खोज तथा उद्धार प्रणालीको सुदृढीकरण तथा राहत वितरणलाई व्यवस्थित बनाउने विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।
अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र कर्मचारीहरूले विपद् पूर्वतयारीसम्बन्धी तालिमलाई स्थानीय आवश्यकता अनुसार अझ व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका थिए। साथै, पुनर्निर्माणसम्बन्धी अनुदान वितरण प्रक्रियामा ढिलाइ हुँदा प्रभावित समुदाय थप समस्यामा पर्ने भएकाले प्रक्रिया छिटो र सहज बनाउनुपर्ने मागसमेत गरिएको थियो।
त्यसैगरी आगामी वर्षका लागि आवश्यक राहत सामग्री समयमै खरिद तथा भण्डारण गर्नुपर्ने, स्थानीय तहको क्षमताअनुसार स्रोतसाधन सुनिश्चित गर्नुपर्ने र विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
जोखिमयुक्त भूगोल रहेको सिन्धुपाल्चोकमा यस्ता छलफल तथा तयारीमूलक कार्यक्रमहरूले नीति र व्यवहारबीच समन्वय बढाउँदै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
८ चैत्र २०८२, आईतवार ०७:५७