सिन्धुपाल्चोकमा लोड सल्ला खेतीको विस्तार : क्यान्सर उपचारमा आशा, आम्दानीको स्रोत पनि

जनतापत्र, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लामा बहुउपयोगी औषधीय जडीबुटी लोड सल्ला (Lodh Salla) को संरक्षण र खेती विस्तार गर्ने अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा र सव-डिभिजन वन कार्यालय बाह्रबिसेको समन्वयमा त्रिपुरा सुन्दरी गाउँपालिका–५ स्थित सिखर चुली सामुदायिक वन समूहले लोड सल्लाको बिरुवा रोपण कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रममा सामुदायिक वन समूहका अध्यक्ष साजन श्रेष्ठको अगुवाइमा उपभोक्ताहरुको सक्रिय सहभागिता देखिएको छ। श्रेष्ठका अनुसार, “क्यान्सरजस्तो घातक रोगको औषधि हुने र हाम्रो भूगोलमा राम्रोसँग हुर्कन सक्ने भएकाले लोड सल्लाको खेती हाम्रो समूहले प्राथमिकतामा राखेको हो।”

लोड सल्ला एक बहुमूल्य औषधीय बिरुवा हो जसको पात, डाँठ, बोक्रा, फलफूल र काठ सबै क्यान्सरजस्तो रोगको उपचारमा प्रयोग हुने वैज्ञानिकहरू बताउँछन्। यसको काठबाट पलङ बनाएर सुत्दा समेत क्यान्सरबाट बच्न सकिने विश्वास गरिएको छ। पात संकलन गरेर सुकाई डस्ट बनाएर बेच्न सकिन्छ भने फलपनि बिक्री योग्य छ, जसले समुदायका लागि आयआर्जनको माध्यमसमेत बन्न सक्छ।

कार्यक्रमका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा सिन्धुपाल्चोकका उपाध्यक्ष शारदा प्रसाद चालिसेले लोड सल्ला खेतीको सम्भावना भएको अन्य हिमाली क्षेत्र पहिचान गरी पकेट क्षेत्रको रूपमा विकास गर्न डिभिजन वन कार्यालयलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “लोड सल्ला जस्ता बहुमूल्य जडीबुटी संरक्षण गरी खेती विस्तार गर्न सके क्यान्सरको उपचारमा सहयोग त हुन्छ नै, समुदायको आयआर्जनमा पनि टेवा पुग्छ।”

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले लोड सल्लालाई प्राथमिकता दिएर संरक्षण तथा खेती अभियान विस्तार गर्ने योजना अघि सारेको छ। वन कार्यालयले आगामी वर्षहरूमा सम्भावित ठाउँहरूको पहिचान गरी योजनाबद्ध रूपमा लोड सल्ला रोपण गर्ने तयारी गरेको जनाएको छ।

लोड सल्ला विशेषगरी हिमाली भेगका लेकसाइड क्षेत्रमा पाइने बिरुवा हो। वातावरणमैत्री, औषधीय र आर्थिक दृष्टिले निकै लाभदायक मानिने यो जडीबुटीलाई संरक्षण गर्न सकिएमा, यो जिल्लाका लागि मात्र नभई सम्पूर्ण हिमाली क्षेत्रका लागि महत्वपूर्ण उदाहरण बन्न सक्छ।

१२ असार २०८२, बिहीबार ०९:३०