/*php the_title();*/?>


आइसिँ तामाङ, चौतारा सिन्धुपाल्चोक ।
लागुऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा साप्ताहिक जनचेतनामूलक अभियान सुरु गरिएको छ।
पछिल्लो समय जिल्लामा लागुऔषधको प्रयोग तीव्र रूपमा बढ्दै गएको भन्दै युवालाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको संयोजन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गरेको हो। अभियान अन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रम, अन्तरक्रिया, निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने भएको छ। “लागुऔषधमुक्त समाज निर्माणमा युवाको भूमिका“ भन्ने नारासहित कार्यक्रमहरू सञ्चालन गरिने प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पछिल्लो समय गाँजा, चरेस, हेरोइन, कोकिन जस्ता खतरनाक लागुऔषधप्रति युवा र विद्यार्थीहरू आकर्षित भइरहेका छन्। लागुऔषधको दुरुपयोगले घरेलु हिंसा, आत्महत्या, हत्या, चोरी लगायतका आपराधिक गतिविधिमा वृद्धि भएको बताउनु भएको हो ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी किरण थापाले लागुऔषधविरुद्धको अभियानलाई परिणाममुखी बनाउन युवालाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ ।
साप्ताहिक अभियानअन्तर्गत वडास्तरीय र सामुदायिक कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाइएको छ। आयोजकहरूका अनुसार जिल्लाभरिका युवामार्फत जनस्तरसम्म चेतनाको सन्देश फैलाउने र सामूहिक प्रयासमार्फत लागुऔषध समस्या न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।
६ असार २०८२, शुक्रबार २१:०७