सिन्धुपाल्चोकमा यी कारणले एमाले अग्रपङ्क्तिमा छ


जनतापत्र, सिन्धुपाल्चोक ।
फागुन २१, २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक जिल्लाको राजनीतिक तापक्रम तीव्र बन्दै गएको छ । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा मुख्य प्रतिस्पर्धा सत्ता र प्रतिपक्षबीच देखिए पनि संगठनात्मक तयारी र मत आधारका हिसाबले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै क्षेत्रमा बलियो दाबी प्रस्तुत गरेको छ । जिल्लामा विगतदेखि प्रभाव जमाउँदै आएको एमाले यसपटक गठबन्धनविहीन प्रतिस्पर्धामा समेत आफू अनुकूल वातावरण बन्ने विश्वासमा देखिन्छ ।
एमालेको जितको पहिलो आधार संगठनात्मक संरचना मानिएको छ । पालिका, वडा र बुथ तहसम्म परिचालित कार्यकर्ता सञ्जाल एमालेको बलियो पक्षका रूपमा प्रस्तुत गरिएको छ ।
विगतको समानुपातिक मत परिणाम पनि एमालेका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरिएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले २२ हजार ७४ मत प्राप्त गरेको थियो, जुन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भन्दा बढी थियो । यसपटक समानुपातिक मत बढाउने लक्ष्य राखिएको एमाले नेतृत्व बताउँछ । यदि समानुपातिकतर्फ मत वृद्धि भए त्यसको प्रभाव प्रत्यक्षतर्फ पनि पर्ने आँकलन गरिएको छ । विशेष गरी क्षेत्र नम्बर १ मा पार्टी ‘बलियो अवस्थामा’ रहेको नेताहरूको दाबी छ ।
यसपटक औपचारिक चुनावी गठबन्धन नबन्दा विपक्षी मत विभाजन हुने सम्भावना एमालेले आफ्नो पक्षमा देखेको छ । अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले लाभ लिएको थियो । तर अहिले त्यस्तो सहकार्य स्पष्ट नदेखिएकाले प्रतिस्पर्धी मत छरपस्ट हुन सक्ने विश्लेषण गरिएको छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता दलहरूको उपस्थितिले पनि प्रतिपक्षी मतमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । एमाले नेताहरूले कुनै पनि हालतमा जित्ने दाबी गर्दै मनोवैज्ञानिक अग्रता कायम राख्ने प्रयास गरिरहेका छन् ।


विगतमा क्षेत्र नम्बर २ बाट शेरबहादुर तामाङ ले प्रतिनिधिसभा जितेको इतिहासले पार्टी आधार मजबुत रहेको तर्क एमालेले अघि सारेको छ भने क्षेत्र नम्बर १ मा सरेश नेपाल नागरिकसंग अन्य उम्मेदारको तुलनामा लोकप्रिय मानिन्छन् ।
यद्यिप चुनौती पनि कम छैन । यसपटक गठबन्धन स्पष्ट नभए पनि उनको व्यक्तिगत प्रभाव र संगठनात्मक पहुँचलाई कमजोर आँक्न नसकिने विश्लेषकहरू बताउँछन् । कांग्रेसले पनि दुवै क्षेत्रमा बलियो नै उम्मेदवार उतारेको छ ।
स्थानीय तहको समीकरण पनि निर्णायक बन्न सक्छ । केही वडामा एमालेको मत आधार घटेको विश्लेषण भए पनि समग्र जिल्लामा पार्टी संरचना सशक्त रहेको नेताहरूको दाबी छ । ‘जिल्ला भित्रका लालकिल्लाहरु जोगाउने’ मनोविज्ञानले कार्यकर्तालाई थप सक्रिय बनाएको बताइन्छ । घरदैलो, टोलसभा र युवा लक्षित कार्यक्रममार्फत मतदाता समक्ष पुग्ने अभियान तीव्र बनाइएको छ।
राजनीतिक विश्लेषकहरू भने चुनावी परिणाम अन्तिम क्षणसम्म अनिश्चित रहने बताउँछन् । मतदाता व्यवहार, उम्मेदवार चयनको अन्तिम निर्णय, स्थानीय मुद्दा—विशेष गरी रोजगारी, पूर्वाधार, कृषि र विपद् व्यवस्थापन—जस्ता सवालहरू निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।
समग्रमा संगठन बल, समानुपातिक मतमा अग्रता, विपक्षी मत विभाजनको सम्भावना र नेतृत्वको सक्रियताले एमालेलाई अनुकूल वातावरण देखिए पनि प्रतिस्पर्धा कडा हुने निश्चित छ । फागुन २१ को निर्वाचनले सिन्धुपाल्चोकको राजनीतिक दिशा मात्र होइन, राष्ट्रिय समीकरणमा पनि सन्देश दिने भएकाले सबै दलका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ।

१ फाल्गुन २०८२, शुक्रबार १३:१३