/*php the_title();*/?>
टीका सुवेदी, सिन्धुपाल्चोक ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर सिन्धुपाल्चोक जिल्लामा चुनावी माहोल तातेको छ। राजनीतिक दलहरू उम्मेदवार सार्वजनिक गर्ने, घरदैलो कार्यक्रम सञ्चालन गर्ने र चुनावी एजेन्डा प्रस्तुत गर्ने कार्यमा व्यस्त देखिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा गरी कुल ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ मा समान १८–१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। ठूला राष्ट्रिय दल, साना दल र स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य सहभागिताले यसपटकको निर्वाचन रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।

निर्वाचन क्षेत्र नं. १ः ठूला दलबीच कडा प्रतिस्पर्धा
निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
यस क्षेत्रमा नेकपा (एमाले) बाट सरेश नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट माधव सापकोटा, नेपाली कांग्रेसबाट जंगबहादुर लामा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली उम्मेदवार रहेका छन्। यसका साथै उज्यालो नेपाल पार्टी, आम जनमत पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य साना दलका उम्मेदवारहरूको पनि सहभागिता छ। तीन जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
नेकपा (एमाले) का उम्मेदवार सरेश नेपालले मुलुकको समृद्धि, राष्ट्रियता र जनजीवनको पक्षमा एमाले निरन्तर क्रियाशील रहेको दाबी गरेका छन्। उनले राजनीतिक स्थायित्व, सुशासन र योजनाबद्ध विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। सिन्धुपाल्चोकको भौतिक पूर्वाधार, कृषि, पर्यटन र रोजगारी सिर्जनामा एमालेसँग स्पष्ट योजना रहेको उनको भनाइ छ।
नेकपाका उम्मेदवार माधव सापकोटाले विकास र जनजीविकालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएको बताएका छन्। उनले विगतमा सुरु भई अधुरा रहेका विकास योजनाहरूलाई निरन्तरता दिने र स्थानीय आवश्यकता अनुसार नयाँ कार्यक्रम अघि सार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामाले सिन्धुपाल्चोकको विकास यात्रामा कांग्रेसको ऐतिहासिक भूमिका रहेको दाबी गरेका छन्। उनले लोकतान्त्रिक मूल्यको संरक्षण, समावेशी विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

निर्वाचन क्षेत्र नं. २ः विकास र सुशासन मुख्य एजेन्डा
निर्वाचन क्षेत्र नं. २ मा पनि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट युवराज दुलाल, नेपाली कांग्रेसबाट वंशलाल तामाङ, नेकपा (एमाले) बाट शेरबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलककुमार श्रेष्ठ चुनावी मैदानमा छन्। यसका अतिरिक्त विभिन्न साना दल र तीन जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
यस निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी भने न्यून देखिएको छ। नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङ एक्ली महिला उम्मेदवारका रूपमा मैदानमा रहेकी छन्। महिला सहभागिता कम हुनु चुनावी बहसको विषयसमेत बनेको छ।
नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङले सुशासन, विकास र समृद्धिलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले जनताको आवश्यकता र प्राथमिकताको आधारमा विकास योजना तय गरिने बताए। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ।
नेकपाका उम्मेदवार युवराज दुलालले युवाको सहभागिता र विकासमुखी सोचलाई प्राथमिकता दिने बताएका छन्। राजधानी नजिक रहेको सिन्धुपाल्चोक जिल्ला अझै पनि विकासका दृष्टिले पछाडि परेको उल्लेख गर्दै उनले योजनाबद्ध र दिगो विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। आफू निर्वाचित भए विकासलाई व्यवस्थित ढंगले अघि बढाउने स्पष्ट खाका तयार रहेको उनले बताए।
नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। पारदर्शिता, जवाफदेहिता र जनताको विश्वास कायम गर्ने उद्देश्यका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ।
मतदातामा चासो र अपेक्षा

चुनावी गतिविधि तीव्र बन्दै जाँदा सिन्धुपाल्चोकका मतदाताहरूबीच अब कसले स्पष्ट, व्यवहारिक र विश्वासिलो विकास एजेन्डा प्रस्तुत गर्छ भन्ने विषयमा चासो बढ्दै गएको छ। विगतका निर्वाचनमा गरिएका प्रतिबद्धता कति पूरा भए भन्ने विषयले पनि यसपटकको चुनावी बहसलाई प्रभावित गरेको देखिन्छ।
भूकम्प, बाढीपहिरो र प्राकृतिक विपद्को मार खेप्दै आएको सिन्धुपाल्चोकमा सुरक्षित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मतदाताले प्रमुख प्राथमिकतामा राखेका छन्। उम्मेदवारहरूले प्रस्तुत गर्ने योजना, नेतृत्व क्षमता र इमान्दारिताले नै चुनावी नतिजा निर्धारण गर्ने स्थानीयको अपेक्षा छ।

निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी सभाहरू, घरदैलो अभियान र सार्वजनिक बहसहरू थप सक्रिय हुने देखिन्छ। यस्तो अवस्थामा सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि को बन्छ भन्ने चासो मात्र होइन, आगामी पाँच वर्षको विकास दिशाबारे पनि जनस्तरमा गम्भीर बहस सुरु भएको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२को लागि उम्मेद्धारी दिएकाहरुको मुख्य निर्वाचन कार्यालय, सिन्धुपाल्चोककोजानकारी अनुसार नाम र दलहरु
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १
माधव सापकोटा सुवोध (नेकपा)
जंगबहादुर लामा (नेपाली कांग्रेस)
सरेश नेपाल (नेकपा एमाले)
भरतप्रसाद पराजुली (रास्वपा)
राममणि न्यौपाने (राप्रपा)
प्रताप लामा (उज्यालो नेपाल)
दावा लामा (मंगोल नेशनल अर्गानाइजेशन)
फुर्बा तामाङ (श्रम संस्कृति पार्टी)
गीतादेवी कर्मचारी (नेमकिपा)
पासाङ तामाङ (आमजनता पार्टी)
सानू तामाङ (स्वतन्त्र)
अशोकबहादुर श्रेष्ठ (नागरिक सर्वोच्चता पार्टी)
दावा ग्याम्छो लामा (राष्ट्रिय जनमोर्चा)
पदमबहादुर तामाङ (स्वतन्त्र)
पासाङ शेर्पा (जसपा नेपाल)
राजन सुन्चुरी (मितेरी पार्टी)
सन्तकुमार तामाङ (स्वतन्त्र)
समीर श्रेष्ठ (नेपाल कम्युनिस्ट पार्टी)
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २
युवराज दुलाल ‘शरद’ (नेकपा)
बंशलाल तामाङ (नेपाली कांग्रेस)
शेरबहादुर तामाङ (नेकपा एमाले)
झलककुमार श्रेष्ठ ‘अजय’ (रास्वपा)
गोपीकृष्ण चौलागाईं (राप्रपा)
रामसिङ तामाङ (उज्यालो नेपाल)
कर्णवीर स्याङ्बो लामा (मंगोल नेशनल अर्गानाइजेशन)
भानु श्रेष्ठ (श्रम संस्कृति पार्टी)
म्हेन्दो तामाङ (नेमकिपा)
गणेश श्रेष्ठ (आमजनता पार्टी)
दावा छिरिङ शेर्पा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च)
दीपक ढकाल (स्वतन्त्र)
महेश कुँवर (मितेरी पार्टी)
मिङ्मार तामाङ (राष्ट्रिय मुक्ति पार्टी)
बिजु श्रेष्ठ (स्वतन्त्र)
सुन्दर अधिकारी (स्वतन्त्र)
सेरबहादुर तामाङ (नागरिक सर्वोच्चता पार्टी)
सोमान लामा (नेपाल कम्युनिस्ट पार्टी)
८ माघ २०८२, बुधबार ०८:१४