/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लामा खेलकुद विकास, युवाको सक्रियता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘प्रथम सरोज स्मृति कप – सिन्धुपाल्चोक जिल्ला भित्रको अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ। कुृविण्डे युवा समूहको आयोजनामा तथा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता मिति २०८२ माघ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताबारे जानकारी गराउन आयोजित प्रेस मिटमा आयोजक संस्थाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। खेल मैदानको व्यवस्थापन, सहभागी टिम तथा खेलाडीहरूको दर्ता, रेफ्री र प्राविधिक टोलीको व्यवस्था, सुरक्षा प्रबन्ध, स्वास्थ्य सेवा तथा दर्शक व्यवस्थापनलगायतका सबै पक्षलाई ध्यानमा राखेर काम सम्पन्न भइसकेको आयोजकले जानकारी दिएको छ। साथै प्रतियोगिताको खेल तालिका (म्याच सेड्युल) पनि तयार भइसकेको बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगितालाई अनुशासित, व्यवस्थित र खेलभावनाअनुसार सम्पन्न गराउने लक्ष्य लिइएको छ । यस प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाभित्रका ११ वटा स्थानीय तहहरूको सहभागिता रहनेछ । जिल्लाभरिका पालिकाहरूबीच प्रतिस्पर्धात्मक खेलमार्फत युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउने, प्रतिभा पहिचान गर्ने र आपसी एकता तथा सद्भाव मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।
प्रतियोगिताको उद्घाटन समारोह माघ १ गते विशेष कार्यक्रमका साथ हुने भएको छ। उद्घाटन समारोहमा प्रतिनिधि सभा पूर्व सभामुख माननीय अग्नि प्रसाद सापकोटाज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्। त्यस्तै विशेष अतिथिका रूपमा प्रतिनिधि सभा निवर्तमान सदस्य माननीय माधव सापकोटाज्यू तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाज्यूको उपस्थिति रहने आयोजकले जनाएको छ। उद्घाटन समारोहलाई भव्य र स्मरणीय बनाउने तयारी गरिएको छ।
प्रतियोगिताको पहिलो दिन माघ १ गते सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ । रक्तदान कार्यक्रमले मानव सेवा, सहयोग र सामाजिक चेतनाको सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ। साथै प्रतियोगिताको अवधिभर स्थानीय कलाकारहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ, जसले खेलकुदसँगै स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार प्रथम पुरस्कार विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। द्वितीय पुरस्कारतर्फ नगद ७५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने तृतीय पुरस्कार विजेतालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी सान्त्वना पुरस्कारस्वरूप नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि चौतारा साँगाचोकगढी नगरपालिकाबाट ३ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। नगरपालिकाको सहयोगसँगै अन्य विभिन्न सहयोग र स्रोतबाट करिब १८ लाख रुपैयाँ बराबरको बजेट लागत अनुमान गरिएको आयोजकले जानकारी दिएको छ। सीमित स्रोतसाधनका बाबजुद पनि प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने कुविण्डे युवा समूहका अध्यक्ष मेघ बहादुर न्यौपानेले बताएका छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले प्रतियोगिताले जिल्लामा खेलकुद संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक दिशामा अग्रसर गराउने, अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । साथै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय बासिन्दा, स्वयंसेवक तथा सञ्चारमाध्यमप्रति अनुरोध व्यक्त गर्नुभयो।
आयोजकले सम्पूर्ण खेलप्रेमी दर्शक, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन, रक्तदान कार्यक्रममा सहभागिता जनाउन तथा सांस्कृतिक कार्यक्रमको आनन्द लिन हार्दिक अनुरोध गरेको छ। ‘प्रथम सरोज स्मृति कप’ प्रतियोगिताले सिन्धुपाल्चोक जिल्लामा खेलकुदको माध्यमबाट नयाँ ऊर्जा, उत्साह र एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
२९ पुष २०८२, मंगलवार १६:५७