/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गत वर्ष विभिन्न कारणले खोप लगाउन छुटेका बालिका तथा किशोरीलाई लक्षित गर्दै माघ २५ देखि फागुन १ गतेसम्म सिन्धुपाल्चोकमा एचपीभी खोप कार्यक्रम सञ्चालन गरिने भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईका अनुसार, जिल्लामा गत वर्ष ३३ जना किशोरीहरू खोप लगाउनबाट छुटेका थिए। ती किशोरीहरूको पहिचानका लागि खोजी अभियान निरन्तर चलिरहेको छ।

गत वर्ष सिन्धुपाल्चोकमा करिब ९७ प्रतिशत बालिका तथा किशोरीले एचपीभी खोप पाइसकेका थिए। सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा विद्यालय बाहिरका १०–१४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपीभी खोप प्रदान गरेको थियो।

स्वास्थ्यकर्मीहरूका अनुसार, पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण सङ्क्रमण हो। नेपालमा प्रत्येक वर्ष यस क्यान्सरका कारण करिब चार महिला मृत्युको शिकार हुने गरेका छन्। त्यसैले समयमै खोप लगाउनु अत्यन्त आवश्यक रहेको जनाइएको छ।
१९ माघ २०८२, आईतवार २१:२६