सिन्धुपाल्चोकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रम सुरु, मेलम्ची नगरपालिका छनोट

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय अभिमुखीकरण तथा समिति बैठक सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम गरिएको हो। कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोकका लागि मेलम्ची नगरपालिका लाई ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमका लागि छनोट गरिएको जानकारी दिएका छन ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिसस उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिका का स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी तथा विश्व स्वास्थ्य संगठन बागमती प्रदेशका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं ले कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया र अपेक्षित उपलब्धिबारे जानकारी गराउनुभयो।

साथै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘स्वस्थ शहर कार्यान्वयन निर्देशिका २०८२’ सम्बन्धी जानकारीसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला स्तरीय ‘स्वस्थ शहर समन्वय समिति’ गठन गरी अभिमुखीकरण गरिएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका सबै १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरिरहेको छ। यसअन्तर्गत सम्बन्धित निकायबीच स्वस्थ, सुरक्षित र दिगो शहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार पार्ने कार्य अघि बढाइएको छ। प्रदेशभरका १३ वटा जिल्लाका १३ पालिकामा यो अभियान औपचारिक रूपमा सुरु भइसकेको जनाइएको छ।

१० चैत्र २०८२, मंगलवार १४:२०