/*php the_title();*/?>


आइसिँ तामाङ,स्याउले, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेमा बिहीबार रातिको अबिरल वर्षापछि आएको भीषण पहिरोले स्थानीय जनजीवनमा त्रास फैलिएको छ। पहिरोको सिधा मारमा परेका तीन प्रमुख संरचना — वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानीय केशवलाल श्रेष्ठको तीनतले पक्की घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार, लगातारको वर्षाले जमिन चिराचिरा परेपछि ती संरचनाहरू पहिरोको सिधा निशानामा परेका हुन्। ूवडा कार्यालय र स्वास्थ्य चौकी जस्तो सार्वजनिक सेवा केन्द्र जोखिममा पर्दा अवस्था चिन्ताजनक बनेको छ,ू कार्कीले भने। शुक्रबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र अन्य सरोकारवाला निकायको संयुक्त टोलीले घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन्। टोलीले पहिरो अझ फैलिन सक्ने निष्कर्ष निकाल्दै प्रभावित संरचनाहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सिफारिस गरेको छ। प्राकृतिक विपत्तिको जोखिमसँगै आधारभूत सेवा केन्द्रहरू प्रभावित हुँदा स्थानीय जनताको दैनिक जीवनमा थप समस्या आएको छ। यथाशीघ्र संरचनाहरूको स्थानान्तरण र पहिरो नियन्त्रणको उपाय खोज्न दबाब बढ्दै गएको छ।
२० असार २०८२, शुक्रबार २२:१३