/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदी पहिरोमा ज्यान गुमएका ३९ जनाको स्मृतिमा ३९ फिट अग्लो छ्योर्तेन (स्तुपा) निर्माण गरिने भएको छ । २०७७ साल साउन ३० गते गएको विनाशकारी पहिरोमा ज्यान गुमाएका ३९ जनाको सम्झना र श्रद्धाञ्जलीस्वरूप उक्त स्मारक निर्माण गर्न लागिएको हो।गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले एक विशेष कार्यक्रमका बीच स्तुपाको शिलान्यास गरेका छन्।

उहाँका अनुसार, यो संरचनाले मृतकप्रति सम्मान प्रकट गर्नुका साथै पीडित परिवारलाई भावनात्मक सान्त्वना प्रदान गर्ने विश्वास लिइएको छ। पहिरोले लिदी गाउँका ३७ घर पूर्ण रूपमा पुरिएका थिए, जसले सिंगो बस्तीलाई उजाड बनाएको थियो। उक्त घटनापछि विस्थापित भएका परिवारहरू अहिले विभिन्न स्थानमा छरिएर बस्दै आएका छन्।

केही परिवार जुगल–१ को सेलाङस्थित बाँसखर्कमा बसोबास गरिरहेका छन् भने अन्य बराम्ची र चौतारातर्फ सरेका छन्। तर, केही स्थानीय भने अझै पनि आफ्नो पुस्तौनी थातथलो छोड्न सकेका छैनन्। निर्माण हुन लागेको स्तुपाले लिदीलाई केवल पीडाको प्रतीक मात्र नभई धार्मिक आस्था र सम्भावित पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापित गर्ने अपेक्षा गरिएको छ।
१० चैत्र २०८२, मंगलवार १७:५६