सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बोलेरो खस्यो, २ जना बेपत्ता

जनतापत्र, सिन्धुपाल्चोक ।
अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ हिन्दी नजिक बोलेरो भोटेकोशी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका छन्। तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो बुधबार दिउँसो सडकबाट नदीमा खसेको हो। दुर्घटनामा सर्लाही बरथहवा नगरपालिका–२ का २३ वर्षीय राजेश कुमार कुसवाह (चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिनुभयो।
प्रहरीका अनुसार बोलेरो नदीमा खसेपछि दुवै जनालाई भोटेकोशीले बगाएको हो। स्काभेटरको सहयोगमा गाडी तान्ने क्रममा एक जनाको शव बगेको देखिएको र अर्का व्यक्तिको शव पहिल्यै बगाएको हुन सक्ने अनुमान गरिएको छ।
बेपत्ता दुवैजनाको खोजी कार्यमा प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसे खटिएको छ।

१० भाद्र २०८२, मंगलवार १७:१८