सिन्धुपाल्चोकको ईष्ट पोइण्ट एकेडेमीद्वारा संस्कृति संरक्षणमा जोड दशैंमा टिका र लिङ्गे पिङको रौनक

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक। शिक्षासँगै नेपाली मौलिक संस्कृति जगेर्ना गर्ने महत्त्वपूर्ण उद्देश्यका साथ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ मा अवस्थित ईष्ट पोइण्ट एकेडेमीले बडा दशैं २०८२ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले संस्कार सहितको शिक्षा आजको आवश्यकता, नेपाली संस्कृति जगेर्ना हाम्रो प्रतिबद्धताु भन्ने मूल अभिप्रायसहित बडा दशैंको चौथो दिन बिहीवार कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम अन्तर्गत, विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापकको हातबाट टीका र जमरा ग्रहण गर्दै शुभकामना आदानप्रदान गरे। यसले विद्यार्थीलाई परम्परागत दशैं संस्कारसँग जोड्ने काम गरेको छ । यसका साथै, पछिल्लो समय गाउँघरमा लोप हुँदै गएको लिङ्गे पिङ थापी विद्यार्थीहरूलाई खेल्न दिइएको थियो। विद्यालयको यो प्रयासले विद्यार्थीलाई संस्कृतिसँग जोड्ने मात्र नभई रमाइलो वातावरणमा आपसी मिलन–मिलाप बढाउने अवसर पनि प्रदान गरेको थियो। विद्यालयका प्रीन्सिपल दामोदर भारतिले संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई शिक्षासँगै अघि बढाउनु आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

९ आश्विन २०८२, बिहीबार २१:१०