/*php the_title();*/?>

जनतापत्र, इन्द्रावती सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा दुई वटा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ। इन्द्रावती गाउँपालिका–३ र वडा नम्बर ६ मा निर्माण गरिने स्वास्थ्य चौकी भवनको मंगलबार एक समारोहबीच शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रम गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा गर्नुभएको हो।

भारत सरकारको करिब ४ करोड नेपाली रुपैयाँको सहयोगमा निर्माण हुने यी भवनहरू दुई तल्ले हुनेछन्। आवश्यक स्वास्थ्य सेवा प्रवाहका लागि उपयुक्त पूर्वाधार तथा सुविधासहित भवन निर्माण गरिने जनाइएको छ। यी परियोजनाहरू उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत सञ्चालन गरिनेछन्, जसको कार्यान्वयन इन्द्रावती गाउँपालिकामार्फत हुनेछ।

शिलान्यास समारोहमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारले निरन्तर प्रदान गर्दै आएको विकास सहयोगप्रति आभार व्यक्त गरेका छन्। भवन निर्माण सम्पन्न भएपछि स्थानीय नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
१ पुष २०८२, मंगलवार १८:१८