सिन्धुपाल्चोकका नेता प्रेमप्रसाद सापकोटा राष्ट्रिय सभाका उम्मेदवार

जनतापत्र, सिन्धुपाल्चोक ।

नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकका पुराना माओवादी नेता प्रेमप्रसाद सापकोटा (राजेन्द्र) लाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–४, कुबिण्डेका सापकोटालाई उम्मेदवार चयन गरिएको हो।

जनयुद्धका बेला भूमिगत रहेर सैन्य र राजनीतिक दुवै मोर्चामा सक्रिय भूमिका खेलेका सापकोटा शान्ति प्रक्रियापछि वाइसिएलसहित पार्टीका विभिन्न संगठन र केन्द्रीय तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। सादगी जीवनशैली र अनुशासित कार्यशैलीका कारण उनी पार्टीभित्र जनमुखी नेताका रूपमा परिचित छन्।

उनको उम्मेदवारी आज बिहान औपचारिक रूपमा टुंगो लागेसँगै मनोनयन दर्ताका लागि उनी हेटौंडा प्रस्थान गरेका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सापकोटालाई उम्मेदवारीको पत्र प्रदान गरेका हुन्।

२३ पुष २०८२, बुधबार १०:५१