सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी, क्षेत्र नं–१ मा रास्वपाका पराजुली, क्षेत्र नं–२ मा नेकपाका दुलाल अग्रस्थानमा


टीका सुवेदी ,सिन्धुपाल्चोक — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । पछिल्लो प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत प्रसाद पराजुली अग्रस्थानमा रहेका छन् भने क्षेत्र नम्बर–२ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको मध्य चरणका परिणाम सार्वजनिक हुँदै जाँदा जिल्लामा राजनीतिक चासो र उत्सुकता झन् बढ्दै गएको छ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ मा हालसम्म ३२ हजार ५१० मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ । गणना भएको मतमध्ये २ हजार १०० मत बदर भएको बताइएको छ । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत प्रसाद पराजुलीले १२ हजार ५५२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । पराजुलीले प्रारम्भिक चरणदेखि नै स्थिर अग्रता बनाउँदै लगेका छन्।
यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटाले ८ हजार ८७० मत प्राप्त गरेका छन्। उनी दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार जंग बहादुर लामाले ७ हजार २२६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका उम्मेदवार सरेश नेपालले ६ हजार ८८६ मत प्राप्त गरेका छन्।

यसैबीच सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ मा पनि मतगणना तीव्र गतिमा जारी रहेको छ । यहाँ हालसम्म २६ हजार ४१८ मत गणना भइसकेको छ । प्राप्त मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल (तारा) ७ हजार १७७ मतसहित अग्रस्थानमा रहेका छन् । दुलालले प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धी उम्मेदवारहरूमाथि केही मतले अग्रता बनाइरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार बंशलाल तामाङ (रूख) ले ६ हजार २०० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार शेर बहादुर तामाङ (सूर्य) ले ४ हजार २८८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अजय श्रेष्ठ (घण्टी) ले ३ हजार ८८६ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा पनि प्रमुख राजनीतिक दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा निकै रोचक बनेको देखिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुवै निर्वाचन क्षेत्रमा मतगणना प्रक्रिया निरन्तर जारी रहेको छ र अन्तिम परिणाम सार्वजनिक हुन अझ केही समय लाग्ने बताइएको छ । मतगणना केन्द्र बाहिर राजनीतिक दलका प्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। प्रत्येक चरणको मत परिणाम सार्वजनिक हुँदै जाँदा समर्थकहरूबीच उत्साह र चासो बढिरहेको छ।
सिन्धुपाल्चोकमा यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ। नयाँ तथा पुराना दलका उम्मेदवारबीच भएको प्रतिस्पर्धाले जिल्लाको राजनीतिक समीकरणमा पनि नयाँ चर्चा सुरु भएको छ।

२३ फाल्गुन २०८२, शनिबार १६:३०