सिन्धुपाल्चोकका आयल स्टोरहरूमा ठगी र अनियमितता, सरकारी टोलीको एकाएक अनुगमन

आइसिँ तामाङ, सिन्धुपाल्चोक ।

तेलमा मिलावट, मापनमा हेरफेर र उपभोक्तामाथि ठगी भइरहेको गुनासो तीव्र बनेपछि सिन्धुपाल्चोकका विभिन्न आयल स्टोरहरूमा सरकारी संयन्त्रले कडा अनुगमन थालेको छ। बुधवार भएको संयुक्त अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी किरण थापा, गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरका निरीक्षक दीपेन्द्र रोकाहा, राष्ट्रिय अनुसन्धानका प्रमुख सुवास कार्की, उद्योग वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, र डिएसपी माधवराज खरेलसहितका अधिकारीहरू संलग्न थिए। टोलीले चौतारा साँगचोकगढी नगरपालिका–१० सुकुटे, बलेफी गाउँपालिका–६, बलेफी–४ अंधेरी र सानीटारस्थित सुनकोसी तथा अंधेरी आयल स्टोरहरूमा पुगेको थियो। अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन, दर्ता तथा नवीकरण नहुँदा पनि व्यवसाय गरिरहेको, मापन यन्त्रको अवस्था शंकास्पद रहेको, र उपभोक्ताले सेवा लिँदा पारदर्शिता नभएको पाइएको जनाइएको छ। निरीक्षक रोकाहाका अनुसार, आयल स्टोरहरूले प्रयोग गर्ने मापन यन्त्र, नवीकरण कागजात, इन्धनको गुणस्तर र उपकरणहरूको अवस्था जाँच गरिएको छ। साथै, सबै कागजातहरू उपभोक्ताले सहजै देख्न सक्ने गरी राख्न निर्देशन दिइएको छ। नियम मिच्ने स्टोरहरूलाई कारबाही प्रक्रिया अघि बढाइने र नियमित अनुगमन जारी राखिने जनाइएको छ।

१८ असार २०८२, बुधबार १८:३६