सानोसिरुवारी–जल्केनी सडक शिलान्यास,२०८३ असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीदेखि वडा नं। १० जल्केनीसम्म जोड्ने सडक निर्माण कार्यको मंगलबार औपचारिक शिलान्यास गरिएको छ। करिब २ करोड ३० लाख रुपैयाँ लागतमा बन्ने सो सडक बागमती प्रदेशको पूर्वाधार विकास कार्यालयको बजेटमा निर्माण हुने भएको हो। सम्झौताअनुसार सडक २०८३ असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा शिलान्यास गर्दै बागमती प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले ग्रामीण सडक सञ्जाललाई प्राथमिकता दिइएको उल्लेख गर्दै यस परियोजनाले यातायात सहज बनाउने, कृषि उत्पादनको बजार पहुँच बढाउने र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए। उनले भौतिक पूर्वाधार मन्त्री भएका बेला करिब २५० सडकलाई प्रदेश सडक घोषणा गरेर विस्तार गरिएको स्मरण गरे। वडा नं। ७ का अध्यक्ष डम्बर बहादुर तामाङले सडकको संरक्षण र व्यवस्थापनमा स्थानीयको जिम्मेवारी रहने बताउँदै सांसद दुलालको योगदानलाई उच्च सम्मान गरे। उनले दुलाललाई “सिन्धुपाल्चोकको भुइँमा फुलेको सुन्दर बिरुवा” का रूपमा चित्रण गर्दै कृतज्ञता व्यक्त गरे।
निर्माण कार्य भदौरे गणेश जेभीले लिएको छ। सडकमा कालोपत्रे, ढलान, पर्खाल लगायत आवश्यक संरचना निर्माण हुने बताइएको छ।
स्थानीयवासीले सडक पूरा भएपछि सुविधाजनक आवतजावत, ग्रामीण विकासमा गति र आर्थिक गतिविधिमा चहलपहल बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

१० भाद्र २०८२, मंगलवार १५:४८