साना किसानको समृद्धिका लागि सहकारी संस्थालाई सबल बनाउन मेलम्चीमा आम प्रशिक्षण

जनतापत्र, सिन्धुपाल्चोक ।

साना किसानहरूको समृद्धिका लागि सहकारी संस्थालाई सबल बनाउने उद्देश्यले मेलम्चीमा “साना किसानको समृद्धि : कृषिको रूपान्तरण र उद्यमशीलताको विकास” विषयक एकदिने आम प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ।

जिल्ला कृषि सहकारी संघ लि. सिन्धुपाल्चोक र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. काठमाडौं शाखा कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरिका साना किसान तथा अन्य कृषि सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रशिक्षक खेम बहादुर पाठक, राष्ट्रिय सहकारी संघका केन्द्रीय उपाध्यक्षले सहकारीको उद्देश्य, प्रभावकारिता र वर्तमान चुनौतीहरूको सन्दर्भमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने निकाय नभई समाजमा समानता, सहभागिता र आर्थिक समावेशीताका माध्यम पनि भएको स्पष्ट पार्नुभयो।
पाठकले सञ्चालक समितिको कार्यशैली, व्यवस्थापन पक्ष, तथा साधारण सदस्यहरूको भूमिका र सहभागिता झल्किने उदाहरणहरूमार्फत प्रशिक्षणलाई प्रभावकारी बनाउनु भयो। उहाँले सहकारीको दीगो विकासका लागि पारदर्शिता, उत्तरदायित्व र सदस्यको सक्रियता अत्यावश्यक भएको धारणा राख्नुभयो।
कार्यक्रममा विशेष अतिथि इन्द्रमाया गुरुङ, पूर्वमन्त्री एवं सहकारी अभियन्ताले सहकारी आन्दोलनको इतिहास र यसले साना किसानको जीवनमा ल्याएको परिवर्तनबारे मन्तव्य राख्नुभयो। उहाँले स्थानीय उत्पादन र कृषि व्यवसायमा आधारित सहकारी संरचनाले ग्रामीण अर्थतन्त्र सबल बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
बाग्मती सहकारी संघका सञ्चालक कृष्ण प्रसाद सुवेदीले स्वागत मन्तव्यको क्रममा सहकारीको क्षेत्रीय सञ्जाल र नीतिगत पक्षमा भइरहेको प्रयासबारे सहभागीलाई जानकारी गराउनु भयो। उहाँले सहकारीबीचको सहकार्य र समन्वय आवश्यक रहेको कुरामा जोड दिनुभयो।

कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला कृषि सहकारी संघ लि. का अध्यक्ष मित्रलाल चौलागाईंले प्रशिक्षणको उद्देश्य प्रस्ट पार्दै सहकारीहरूलाई पेशागत, आर्थिक र व्यवस्थापकीय रुपमा सबल बनाउनु नै कार्यक्रमको लक्ष्य भएको बताउनु भयो। उहाँले किसानका वास्तविक समस्या समाधान गर्न सहकारीको भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रशिक्षणमा सहकारीहरूलाई दिगो उद्यमतर्फ उन्मुख गराउने दृष्टिकोण, संस्थागत सुधार, लेखापरीक्षणको पारदर्शिता, तथा कृषिको व्यावसायीकरणमा सहकारीको भूमिका जस्ता विषयमा समूहगत छलफल र सहभागितामूलक प्रस्तुति गरिएको थियो।

कार्यक्रमको समापनमा सहभागी संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले आफ्नो ज्ञान र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पारेको प्रतिक्रिया व्यक्त गरेका थिए। उनीहरूले सहकारीमार्फत स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै साना किसानको जीवनस्तर उकास्न सकिने विश्वास व्यक्त गरे

२८ जेष्ठ २०८२, मंगलवार १९:५५