सांसद सापकोटा द्वारा सिन्धुपाल्चोकको मनसुन जोखिमबारे प्राधिकरणलाई औपचारिक ध्यानाकर्षण

आइसिँ तामाङ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक क्षेत्र नं। १ बाट प्रतिनिधित्व गर्ने सांसद माधव सापकोटा ‘सुबोध’ले आगामी मनसुनमा आउन सक्ने सम्भावित विपद् जोखिम र त्यसको पूर्वतयारीका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई औपचारिक रूपमा ध्यानाकर्षण गराएका छन्। सिंहदरबारस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेर सांसद सापकोटाले प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई १४ बुँदे सुझाव तथा माग समेटिएको लिखित पत्र बुझाएका हुन्।ध्यानाकर्षण पत्रमा सिन्धुपाल्चोक जिल्लाको भौगोलिक बनावट, विगतका विपद्का अनुभव, र मनसुनको समयमा देखिन सक्ने जोखिमहरूलाई मध्यनजर गरी आवश्यक तयारी गर्नुपर्ने कुरामा जोड दिइएको छ।

पत्रमा समेटिएका प्रमुख बुँदाहरूमा निम्न विषयहरू उल्लेख छन् ः

जिल्लामा विपद् व्यवस्थापनका लागि विशेष इकाई स्थापना

स्थानीय तहहरूमा त्रिपाल, टेन्ट, प्लास्टिक जाली लगायत राहत सामग्री उपलब्ध गराउने व्यवस्था

भोटेकोशी नदी क्षेत्रमा जलस्तर मापन र अर्ली वार्निङ प्रणाली सञ्चालन

नेपाल टेलिकम र विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै सञ्चार र बिजुली सेवा अबरुद्ध नहुने व्यवस्था

सुरक्षाकर्मीहरूलाई उद्धार कार्यका लागि आवश्यक उपकरण र स्रोत साधन उपलब्ध गराउने माग

बन्देउस्थित सशस्त्र प्रहरी इकाईलाई सुदृढ पार्ने

अरनिको राजमार्गलगायत जोखिमयुक्त सडकहरू सञ्चालनमा राख्न आवश्यक उपकरण तयारी अवस्थामा राख्ने व्यवस्था सम्भावित विस्थापितलाई सुरक्षित स्थानमा सार्ने, आवास र खाद्यान्नको व्यवस्था गर्ने, र संवेदनशील समूहहरू बालबालिका, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति० का लागि विशेष तयारी गर्ने विषयहरू समेटिएका छन्। भेटपछि सांसद सापकोटाले जानकारी दिँदै, कार्यकारी प्रमुख भट्टले पत्रमा उठाइएका बुँदाहरूप्रति गम्भीर चासो व्यक्त गरेका र आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको बताए।

११ असार २०८२, बुधबार १७:५७