साँगाचोकमा शिक्षकद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास, महिला संगठनद्वारा कडा निन्दा

सुनिता रखाल ,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालय, साँगाचोकमा कार्यरत शिक्षकद्वारा १२ वर्षीया नाबालिका बालिकामाथि बलात्कार प्रयास गरिएको घटनाप्रति अखिल नेपाल महिला संघ, जिल्ला कमिटी सिन्धुपाल्चोकले गम्भीर ध्यानाकर्षण गराउँदै कडा निन्दा तथा भर्त्सना गरेको छ। मिति २०८२ माघ १२ गते घटेको उक्त घटनामा आरोपी शिक्षकले विद्यालय परिसरमै नाबालिकामाथि जघन्य यौन दुर्व्यवहारको प्रयास गरेको जनाइएको छ। घटनापछि विद्यालय प्रशासनबाट आरोपीलाई जोगाउने, घटनालाई दबाउन खोज्ने तथा मिलापत्रको प्रयास गरिएको आरोप समेत लागेको छ, जुन अत्यन्तै निन्दनीय र आपत्तिजनक कार्य भएको महिला संघले जनाएको छ। यस्ता गम्भीर अपराधलाई सामान्यीकरण गर्ने तथा अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिले समाजमा झनै अपराध बढ्ने खतरा रहेको भन्दै महिला संघले विद्यालय प्रशासनको भूमिकाप्रति समेत गम्भीर आपत्ति जनाएको छ।

संगठनले अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने स्पष्ट गर्दै दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ। घटनापछि स्थानीयवासीको दबाब र विरोध पश्चात् प्रहरीले आरोपी शिक्षक र विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको जनाइएको छ। महिला संघले यस कदमलाई सकारात्मक ठहर गर्दै अनुसन्धान निष्पक्ष, पारदर्शी र पीडितमैत्री ढंगले अगाडि बढाउन माग गरेको छ। अखिल नेपाल महिला संघले पीडित बालिकाको गोपनीयता, सुरक्षा र न्याय सुनिश्चित गर्न तथा यस्ता घटनामा संलग्न सबै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग सहकार्य गर्दै कडा रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ। साथै समाजमा हुने यस्ता जघन्य अपराधविरुद्ध सबै सचेत नागरिक एकजुट हुन संगठनले आह्वान गरेको छ।

१९ माघ २०८२, आईतवार १८:५८