सहिद स्मारक ‘सी’ डिभिजन छनोटका लागि चौतारा स्पोर्टिङ क्लबको टोली सम्मानपूर्वक बिदाइ

जनतापत्र, सिन्धुपाल्चोक |

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा सहभागी हुन चौतारा स्पोर्टिङ क्लबको टोलीलाई आज चौतारा साँगाचोकगढी नगरपालिकाले औपचारिक रूपमा शुभकामना दिँदै सम्मानपूर्वक बिदाइ गरेको छ। नगर प्रमुख र उपप्रमुख उपस्थित रहेर खेलाडी तथा व्यवस्थापकलाई खादा ओढाइ उत्साहसहित विदाइ गरिएको हो। क्लबका सचिव राकेश रानाका अनुसार छनोट खेलका लागि २२ खेलाडी र ७ व्यवस्थापकसहित २९ जनाको टोली राजधानीतर्फ प्रस्थान गरेको छ। क्लबको पहिलो खेल मंगलबार बिहान ९ बजे धरान सिटी फुटबल क्लबसँग हुने तय गरिएको उनले बताए। “हाम्रो टोली मानसिक र शारीरिक रूपमा पूर्ण रूपमा तयार छ,” रानाले भने।

विदाइ कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेलले पदक मात्र नभई नगरको पहिचान र गौरव बोकेको बताउँदै अनुशासन, मेहनत र समुहभावनाबाट उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे। “नगरपालिकाबाट आवश्यक सहयोगका लागि हामी सधैं तयार छौँ,” उनको भनाइ थियो। उपप्रमुख सीता थापाले राष्ट्रिय स्तरको प्रतिस्पर्धामा चौताराका युवा खेलाडी उभिनु नै गर्वको विषय भएको बताउँदै चरित्र, एकता र स्वस्थ खेलभावनाले नगरको प्रतिष्ठा अझ उज्यालो हुने विश्वास व्यक्त गरिन्। क्लबका अध्यक्ष सविन श्रेष्ठले नगरबासीको साथ र हौसलाले टोलीको मनोबल बलियो बनेको उल्लेख गर्दै यसपटकको तयारी र आत्मविश्वास उच्च रहेकोले राम्रो नतिजाको अपेक्षा व्यक्त गरे। शुभकामनासहित बिदाइ गरिएको चौतारा स्पोर्टिङ क्लबको टोली अब छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नगरलाई गौरवान्वित बनाउने लक्ष्यसहित मैदानतर्फ अघि बढेको छ।

१६ मंसिर २०८२, सोमबार १७:२२