सवारी दुर्घटना न्यूनीकरणका लागि मेलम्चीमा ‘ट्राफिक शिक्षक कार्यक्रम’ सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची नगरपालिका र सम्बन्धित निकायको सहकार्यमा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरप्रमुख आइतमान तामाङले ट्राफिक नियमको पालना गरे दुर्घटना घट्ने बताउँदै हेलमेट नलगाउने र नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नागरिकको ज्यान सुरक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै विद्यालय, शिक्षक र अभिभावकमार्फत ट्राफिक सचेतना व्यवहारमा लागू गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले हेलमेट अनिवार्य लगाउन र सिकाउन शिक्षकलाई आग्रह गर्नुभयो । प्रहरी उपरीक्षक काजीकुमार आचार्यले विद्यालय तहबाट सचेतना फैलाउँदै जिम्मेवार चालक तयार पार्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ट्राफिक नियम, दुर्घटनाबाट हुने क्षति र कानुनी प्रक्रिया सम्बन्धी जानकारी गराइएको थियो ।

१४ माघ २०८२, मंगलवार १८:२४