/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बनेका छन्। विभिन्न दलका उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजना र प्रतिबद्धता सार्वजनिक गर्न थालेका छन्। यसै क्रममा सरेश नेपालले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का मतदातालाई लक्षित गर्दै छुट्टै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार हुन्।
उम्मेदवार नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई तीन भागमा प्रस्तुत गरिएको छ, जसमा क्षेत्रको समग्र विकास, स्थानीय सम्भावनाको उपयोग र पारदर्शी नेतृत्वलाई प्राथमिकतामा राखिएको छ। उनले राष्ट्रिय स्तरको मार्गदर्शनसँगै स्थानीय आवश्यकतालाई विशेष महत्व दिँदै योजना अघि सारेको बताएका छन्।

प्राकृतिक स्रोतको सदुपयोगमार्फत आर्थिक सशक्तीकरण
सिन्धुपाल्चोक–१ क्षेत्रमा रहेका नदी, हिमाली भू–भाग तथा तातोपानी जस्ता स्रोतहरूको व्यवस्थित उपयोग गरी आर्थिक गतिविधि विस्तार गर्ने योजना प्रस्तुत गरिएको छ। विशेषगरी जुगल हिमाल आसपासको पर्यटन प्रवर्द्धन, साहसिक तथा धार्मिक पर्यटन विकास र स्थानीय उत्पादनसँग पर्यटनलाई जोड्ने कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख छ।
यसैगरी, तातोपानी धारा क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, स्थानीय होमस्टे तथा साना व्यवसाय प्रवर्द्धन गर्ने र युवालाई पर्यटन क्षेत्रमा रोजगारीसँग जोड्ने योजना अघि सारिएको छ।
पूर्वाधार सुधार र व्यापार विस्तार
सीमा नाकाको प्रभावकारी सञ्चालनमार्फत व्यापार र आवतजावत सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। तातोपानी नाकालाई थप व्यवस्थित गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्य राखिएको छ।
त्यस्तै, अरनिको राजमार्गको स्तरोन्नति र मर्मत, साथै ग्रामीण सडक सञ्जाल विस्तार गरी दुर्गम बस्तीलाई मुख्य बजारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज पहुँच बनाउने र यातायात व्यवस्थापन सुधार गर्ने योजना पनि समेटिएको छ।
शिक्षा, स्वास्थ्य र रोजगारी
प्रतिबद्धता पत्रमा गुणस्तरीय शिक्षा र सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने, स्थानीय उद्योग र कृषिमा आधारित रोजगारी सिर्जना गर्ने तथा वैदेशिक रोजगारीमा निर्भरता घटाउने लक्ष्य उल्लेख गरिएको छ।
स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा सुदृढ गर्ने, स्वास्थ्य चौकी र अस्पतालमा आवश्यक जनशक्ति तथा उपकरण उपलब्ध गराउने र सर्वसाधारणको पहुँचमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
स्वच्छ र जवाफदेही नेतृत्वको वाचा
उम्मेदवार नेपालले पारदर्शिता, जवाफदेहिता र जनतासँग निरन्तर संवादलाई आफ्नो राजनीतिक प्रतिबद्धताको आधार बनाउने बताएका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा जनहितलाई प्राथमिकता दिने र विकासका कार्यक्रम कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अपनाउने उल्लेख गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले सार्वजनिक गरिरहेका यस्ता योजना र प्रतिबद्धताले मतदातामाझ नीति, कार्यक्रम र कार्यशैलीको तुलना गर्ने वातावरण सिर्जना गरेको छ। निर्वाचन परिणामले आगामी पाँच वर्षका लागि क्षेत्रको विकासको दिशालाई निर्धारण गर्ने भएकाले मतदाताको चासो समेत बढ्दो छ।



३ फाल्गुन २०८२, आईतवार ०८:२०