/*php the_title();*/?>


१ नेकपा एमाले कस्तो पार्टी हो ?
सर्वहारा श्रमजिवी वर्गको अगुवा शक्ति नेकपा (एमाले) यो मुलुकको जनमत तथा संगठनात्मक संरचनाका हिसाबले पहिलो शक्ति हो । राष्ट्र, राष्ट्रियता, जनजिविका, सामाजिक न्याय, विकास, रुपान्तरण, राजनीतिक स्थायित्व र संमृद्ध नेपाल – सुखी नेपालीको राष्ट्रिय आकांक्षाका सवालमा नेकपा (एमाले) बाहेकका राजनीतिक दल जिम्मेवार र प्रतिबद्ध छैनन् । माक्र्सवादको झण्डा उठाएर समाजवाद निर्माणको आधार तयार गर्दै राष्ट्रिय पूँजीको निर्माण मार्फत समृद्ध नेपाल सुखी नेपालीको सार्थक पहल कदमी नेकपा (एमाले)को मूल अभिष्ठ हो । सामाजिक न्याय, लोकतन्त्र, गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण र संघीय राज्य व्यवस्थामा अधिकार सम्पन्न नागरिकको मान्यताप्रति देखाएको चट्टानी अडान र सोही बमोजिमका कार्ययोजना तथा नीतिका कारण पटक पटक अस्थिरता चाहने शक्तिहरुको गठबन्धनको कसिलो घेरालाई तोड्दै नेकपा (एमाले) लोकप्रियताको शीर्ष स्थानमा छ । त्यतिमात्र हैन यसले लिएको विकास प्रतिको प्रष्ट नीति तथा भिजन नै आजको सन्दर्भमा नेपाल सरकार तथा राष्ट्रको मार्गदर्शन हो । जनताको बहुदलीय जनवाद अन्तरगत पहलकदमी र प्रतिष्पर्धाका माध्यमबाट श्रेष्ठता हासिल गर्दै नेतृत्व लिने तथा पूँजीवादी बहुलवादको निर्माण गर्दै जनताको जनवादी राज्य व्यवस्थाको सुदृढिकरण गर्ने पार्टीको मूल कार्यनीति अनि ध्येय रहेको छ ।
२ यो पार्टीलाई के कस्तो अवसर छ ?
नेकपा एमालेका सामु यतिबेला राष्ट्रिय राजनीतिलाई आफ्नो वरिपरि घुमाउँने सामथ्र्य मात्र होइन की जनता र राष्ट्रको सर्वाङ्गिग हितका लागि नेतृत्व गर्ने अवसर छ, रहिरहने छ । मुलुकको विकास, रुपान्तरण, लोकतन्त्रको सुदृढिकरण तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत प्रतिष्ठालाई उँचो बनाउँदै सबै शक्तिहरुलाई एकैठाउँमा ल्याएर राष्ट्रिय एकताको मुलधारमा समाहित गर्ने अवसर नेकपा (एमाले)लाई प्राप्त छ । उक्त अवसरलाई व्यवहारतः सदुपयोग गर्दै नागरिकको भावना र चाहनालाई सम्बोधन गर्दै युवाशक्तिलाई नेपालमै रोजगारिको सिर्जना गर्दै सकारात्मक सोच, चिन्तन र मान्यताका आधारमा आफ्नो झण्डामुनि गोलबद्ध गर्ने अवसर पार्टीका सामु रहेको पाइन्छ । सस्तो लोकप्रियताभन्दा माथि उठेर दीर्घकालिन लक्ष्य र संकल्पका आधारमा अघि बढ्दै आफ्नो देशव्यापी संगठनात्मक संरचनालाई अझैं बलियो बनाउँदै मिसन ०८४ को लक्ष्यमा अघि बढ्नु हाम्रो मूल जिम्मेवारी हो । सामाजिक अराजकता र अवसरबादी चरित्र अनि नकारात्मकता मात्रै सम्प्रेषित गर्दै सोही जगमा एमालेलाई कमजोर बनाएर आफ्नो अस्तित्व निर्माण गर्न खोज्न, भीड मार्फत कानुन र न्यायका प्रकृयाहरुलाई अवरुद्ध पार्न खोज्ने प्रवृत्तिबाट पार्टीलाई जोगाउँनु आजको आवश्यकता हो । राणा शासनको कठोरतम् अवस्था अनि पञ्चायतकालीन मण्डले जगजगीका बीच जोगिएर जनताको बीचमा स्थापित यो पार्टीलाई सानातिना आँधि हुरीले हल्लाउँन सक्दैन । १० वर्षे सशस्त्र युद्धको अँधिबेहरी अनि राजा ज्ञानेन्द्रको हुकुमी शैली तथा रवाफका सामु नगिरेको नेकपा (एमाले)को साख आज खुद्रे मिडियाको सहारा अनि नकारात्मकताको साम्राज्य खडा गरेर कसैले केही पनि गरेन भन्ने भाष्य निर्माण गर्दै नागरिकलाई भ्रम र अफवाहको सिकार बनाएर सोही जगमा एमालेजस्तो जनस्तरमा स्थापित पार्टीलाई कमजोर बनाउँने सपना कालो कोठाभित्र बसेर बुन्ने हल्लाबाजहरुबाट पार्टीलाई जोगाउँनु पर्दछ । देशदेखि विदेशमा बस्ने नेपाली नागरिकसम्म विस्तारित संगठन संरचना, आम नेपाली नागरिकको पार्टीप्रतिको अपार माया तथा स्नेह, जस्तोसुकै संकटको समयमा पनि नडगमगाउँने पार्टीको जनसम्बन्ध, नेताको फेर समाएर हैन पार्टीप्रतिको साँच्चै निष्ठा र समर्पण भावले ओतप्रोत कार्यकर्ता पंक्ति, विश्व राजनीतिमा तरंग पैदा गर्नसक्ने जनताको बहुदलीय जनबाद जस्तो लोकप्रिय तथा जनप्रिय सिद्धान्त, विश्व भू राजनीतिमा पैदा भएको एमालेप्रतिको विश्वास र भरोषा तथा अन्तर्राष्ट्रिय जगतमा पनि फैलिंदै गरेको एमालेको साख आजको सन्दर्भमा एमालेका निम्ति अवसर हो । कम्युनिष्ट आन्दोलनको मूल धारका रुपमा स्थापित शक्तिका हैसियतले अन्य सानातिना वामपन्थी शक्तिलाई पनि एकाकार गर्दै अघि बढ्ने सम्भावनालाई सदुपयोग गर्न सक्दा यो नेकपा (एमाले)का लागि अर्को अवसर हो ।
३ यो पार्टीलाई कस्तो चुनौती छ ?
नेकपा (एमाले) बाह्य जोखिमबाट जोगिँदा जोगिँदै पनि आन्तरिक रुपमा समस्याग्रस्त छ । पार्टीभित्र दिनदिनै व्यक्तिकेन्द्रित सोच, चिन्तन र पद्धतिहरु विकसित हुँदै छन् । पार्टी स्थापित विधी र प्रणालीहरु कमजोर र निरीह सावित हुँदैछन् । पार्टी भित्र आन्तरिक लोकतन्त्रका नाममा छाडातन्त्र र मनमौजी तौर तरिकाहरु विकसित हुँदै छन् । आलोचना आत्मालोचनाको पद्धति शून्य प्रायः हुँदै छ । लेनिनवादी संगठनात्मक प्रणाली हैन की आफुले भनेजस्तो नभए घुर्की र धम्कीका भाषाहरु प्रयोग गर्दै एकले अर्को सहयोद्धामाथि विपक्षी पार्टीको कार्यकर्ता प्रतिभन्दा निकृष्ट र निर्ममताहरु प्रदर्शन गर्ने अवस्था देखा परेको छ । योगदान र भूमिकाको आधारमा भन्दा व्यक्तिगत निकटताका आधारमा नेतृत्व निर्माण गर्ने अवस्था बन्दै गरेको छ । पार्टीलाई विचार, संगठन र सिद्धान्तले लैस कार्यकर्ताको आस्थाको पुञ्ज बनाउँनुभन्दा समर्थकहरुको भीड बटुल्ने माध्यमका रुपमा प्रयोग गर्नखोज्ने खतरा उत्पन्न भएको छ । पार्टीभित्र मपाईत्व एक प्रकारले भन्ने हो भने ‘म’ वाद मौलाउँदै गएको छ । नयाँ र भविष्यप्रति भरोषा गर्नसक्नेहरु पाखा लाग्ने तर पैसा, गुण्डागर्दी र धाकधम्कीका आधारमा नेतृत्व हत्याएर प्राप्त जिम्मेवारीलाई आफ्नो व्यक्तिगत स्वार्थ सिद्धिको माध्यम बनाउँन खोज्ने प्रवृत्ति बढ्दै गएको छ । यस्ताखाले प्रवृत्ति पार्टी जीवनका लागि आजको सन्दर्भमा आन्तरिक चुनौती हुन् । त्यस्तै एमाले विरुद्ध हुने र भैरहेका सबैखाले घेराबन्दीहरु, विपक्षी बीचमा एमालेको तागतसंग एक्लै प्रतिस्पर्धा गर्न सकिन्न भन्ने मनोविज्ञानका कारण घोषित, अघोषित मोर्चाबन्दी, सरकारको मूल नेतृत्वकर्ताको हैसियतमा रहेको हुँदा नागरिकमा उत्पन्न एन्टीसत्ताको मनोविज्ञान, सरकारबाट अपेक्षित गतिमा काम हुन नसक्नु, एमाले नेतृत्वमा रहेका कतिपय नेता तथा कार्यकर्ताहरु कमिसन, भ्रष्टाचार, अनियमितता, सहकारी ठगी लगायत फौजदारी प्रकृतिका अपराधमा संलग्न रहेको भनी नाम जोडिनु हाम्रो पार्टी विस्तारमा अवरोधका रुपमा रहेका छन् । अन्तर्राष्ट्रिय राजनीतिमा देखापरेको वामपन्थी विरोधी ध्रुवको चलखेल र सक्रियताको सिकार पार्टीका कतिपय नेताहरु स्वयम् नै बन्नु, पार्टीलाई विभिन्न विखण्डनको प्रयास गरिरहनु, लामो समय पार्टी नेतृत्वमा बसेकाहरु नै असन्तुष्ट बन्दै पार्टीलाई चोइट्याएर व्यक्तिगत स्वार्थसिद्धिका लागि पार्टीलाई सिध्याउँने खेलमा लागिरहनु, पद, शक्ति र ओहोदालाई स्थायी ठान्नु र पद तथा शक्तिबाट बाहिर बस्नै अरुचि हुनु आजको सन्दर्भमा नेकपा (एमाले)का निम्ति चुनौती हो । नयाँ युवा पुस्तालाई अपेक्षित रुपमा पार्टीमा भित्र्याउँन नसकिनु र युवा पंक्तिमा दिनदिनै राजनीतिक पार्टीहरु प्रति वितृष्णा फैलिँदै जानु पनि हाम्रा निम्ती अर्को खतराको संकेत हो ।
४. तपाईंको विचारमा कस्तो एमाले देख्न चाहनुहुन्छ ?
यतिबेला पार्टीका विरुद्धमा गरिएका अनर्गलप्रचार र मोर्चाबन्दीलाई जनता र पार्टी पंक्तिको बलमा गतिलो झापड लगाउँदै आगामी दिनमा हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पार्टीले लिएका जनपक्षीय एजेण्डाहरुलाई अनुमोदन गर्ने अभियानमा सिंगो पार्टी एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । वैचारिक रुपमा स्पष्ट, राजनीतिक रुपमा नागरिकप्रति सदैव प्रतिबद्ध, सैद्धान्तिक रुपमा माक्र्सवादी दर्शनबाट शिक्षित र दीक्षित तथा व्यवहारिक रुपमा नागरिकको हरेक सुख दुःखको सहयात्री कार्यकर्ता पंक्ति आजको एमालेका लागि अपरिहार्य छ । संगठनिक रुपमा अझै बलियो र फराकिलो संगठन भएको आन्तरिक समस्याबाट मुक्त, भावनात्मक रुपमा एकतावद्ध गुटहरुको महासंद्ध जास्तो हैन माक्र्सवादी सिद्धान्त तथा जनताको बहुदलीय जनवादको मार्गदर्शनका आधारमा कम्युनिष्ट आचरण र आदर्शले ओतप्रोत कार्यकर्ता पंक्ति भएको पार्टी हाम्रो अपेक्षा हो । नागरिकको दुःखमा सहकार्य गर्ने, नागरिकको सुखमा संगै हाँस्न सक्ने नैतिकता र आचरणमा रहेको नेतृत्व सहितको पार्टी आजको दिनमा नागरिकको अपेक्षा हो । सामाजिक विकास र रुपान्तरण प्रति प्रष्ट भिजन भएको समाजमा स्थापित र इमानदार छवि भएको नेता सहितको पार्टीले मात्रै समाज र राष्ट्रलाई नेतृत्व दिन सक्दछ । वर्गीय, जातिय, क्षेत्रीय, लैंगिक लगायत सबैखाले विभेदहरुबाट नागरिकलाई मुक्त गर्दै न्याय र समानतामा आधारित सुसंस्कृत समाज स्थापनाको निम्ति अघि बढ्न सक्ने पार्टी नेकपा एमाले नै हो । यस भित्र हुर्किएका कतिपय विकृतिहरुलाई हटाएर सिंगो समाज र राष्ट्रलाई अझै एकताबद्ध बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई अझै उजिल्याउँन सक्ने एमाले आजको दिनमा मुलुकको आवश्यकता हो ।
१६ भाद्र २०८२, सोमबार १४:०५