/*php the_title();*/?>

सुनिता रखाल, सिन्धुपाल्चोक ।
चौतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित प्रभातफेरी र सन्देशमूलक लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–५ को भिन्तुना चोकबाट सुरु भएको प्रभातफेरी टुडिखेलको फल्चासम्म पुगेर समापन गरिएको थियो ।
सो कार्यक्रम नगरपालिकाको आर्थिक सहयोग तथा अपाङ्गता समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा महिला तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले लैङ्गिक हिंसा तथा मानव अधिकार संरक्षणका अभियानलाई प्रभावकारी बनाउन सबै पक्ष एकसाथ अघि बढ्नुपर्नेमा जोड दिदै अभियानले स्थानीय तहमा विगतका दिनहरूमा नेपाली जनताले भोगेको शोषण र पीडाको अवस्था हुदै अहिले जनप्रतिनिधिलाई बाटोमा नै भेटेर गुनासो पोख्ने वातावरण सृजना भएको बताए । साथै उनले लक्षित वर्ग को हक हित र अधिकार सुनिश्चित गर्न नगरपालिका सधै तत्पर रहेको बताए ।
कार्यक्रममा उप–प्रमुख सीता थापा, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, वडा अध्यक्षहरू, सञ्चारकर्मी, महिला संजाल, सहकारी संस्था, संघ–संगठनका प्रतिनिधि, स्वास्थ्य स्वयंसेविका तथा स्थानीय अभिभावक–बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले प्रविधिसँगै सामाजिक चेतनाको प्रसार गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि निरन्तर क्रियाशील रहनुपर्ने धारणा राखेका थिए ।
नगर अपाङ्गता समन्वय समितिका अध्यक्ष कृष्णबहादुर तामाङको अध्यक्षतामा सञ्चालित लोकगीत प्रतियोगितामा १५ समूहले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा प्राप्त नतिजा ।
वजयी समूहहरूले क्रमशः प्रथमः रामदेवी माध्यमिक विद्यालय महिला शिक्षिका समूह
द्वितीयः ‘दयाका हातहरू’ समूह
तृतीयः अपाङ्गता समावेशी समूह
सान्त्वनाः आहालडाँडा महिला समूह तथा सिद्धिगणेश महिला समूह
क्रमश १५ हजार, १० हजार, ७ हजार ५ सय तथा सान्त्वना दुवै समूहले ३–३ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरे ।

२५ मंसिर २०८२, बुधबार २१:४४