श्री महाकाली माविको ५१औँ वार्षिक उत्सव तथा ४७औँ अभिभावक भेला सम्पन्न

जनतापत्र,सिन्धुपाल्चोक ।
श्री महाकाली माध्यमिक विद्यालयको ५१औँ वार्षिक उत्सव तथा ४७औँ अभिभावक भेला मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शैक्षिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमहरू समावेश गरिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख प्रधानले श्री महाकाली मावि मेलम्ची नगरपालिकामात्र नभई जिल्लामै परिचित र विश्वासिलो शैक्षिक संस्था भएको उल्लेख गर्नुभयो। उहाँले शिक्षा र पूर्वाधार विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै विद्यालयको घेराबार, कक्षाकोठा व्यवस्थापन लगायतका आवश्यक संरचनागत कामहरू सम्पन्न भइसकेको जानकारी दिनुभयो।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि पनि निरन्तर प्रयास भइरहेको उहाँको भनाइ थियो। कार्यक्रमका विशेष अतिथि वडा नं। १२ का अध्यक्ष गणेश तामाङले गुणस्तरीय शिक्षाका लागि वडा र नगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा विद्यालयका जग्गादाता, पूर्वप्रधानाध्यापक तथा योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकेन्द्र स्याङ्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। साथै सांस्कृतिक कार्यक्रममा कलाकार तथा विद्यार्थीहरूको आकर्षक प्रस्तुति रहेको थियो।

१६ माघ २०८२, बिहीबार २१:३१