शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन पाँचपोखरीको मूल धन

जनतापत्र,सिन्धुपाल्चोक।
“शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन पाँचपोखरीको मूल धन” भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले योजनाबद्ध रूपमा विकासका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। विभिन्न किसिमका आरोप–प्रत्यारोपको सामना गर्दै पनि पालिकाले आफ्ना लक्ष्यबाट विचलित नभई नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ निरन्तर काम गरिरहेको छ। तत्कालीन लोकप्रियताभन्दा दीर्घकालीन दृष्टिकोणलाई प्राथमिकतामा राख्दै पालिकाले आन्तरिक स्रोत सीमित हुँदाहुँदै पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ। “२१औँ शताब्दीमा शिक्षा बिना मानिस अधुरो हुन्छ” भन्ने मान्यताका साथ प्रविधिसँग शिक्षा जोड्दै निरन्तर अनुगमन र शिक्षक–शिक्षिकाको समर्पणका कारण आर्थिक वर्ष २०८१र०८२ मा पाँचपोखरी थाङ्पाल

गाउँपालिका शिक्षाको क्षेत्रमा जिल्लाकै पहिलो पालिका बन्न सफल भएको छ। स्वास्थ्य क्षेत्रतर्फ पनि पालिकाले नागरिकलाई घरदैलोमै सेवा पुर्‍याउने लक्ष्यसहित सबै वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ। सुत्केरी महिलादेखि बालबालिका, युवा हुँदै ज्येष्ठ नागरिकसम्मलाई सहज, सुलभ र नजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानको सकारात्मक परिणामस्वरूप आर्थिक वर्ष २०८१र०८२ मा स्वास्थ्य क्षेत्रमा पनि यो पालिका जिल्लाकै अग्रस्थानमा रहन सफल भएको छ। यस अभियानमा अनवरत खटिने स्वास्थ्य शाखा प्रमुखलगायत सम्पूर्ण स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय रहेको पालिकाले जनाएको छ। हिमाली भूगोल र सीमित स्रोतसाधन हुँदाहुँदै पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पर्यटन विकासलाई प्राथमिकतामा राख्दै विभिन्न पर्यटकीय गन्तव्यहरूमा भौतिक पूर्वाधार निर्माण तथा आकर्षक गतिविधि सञ्चालन गर्दै आएको छ। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पालिकाले सोचेजति सबै काम एकैचोटि पूरा गर्न नसकेको स्वीकार गर्दै नेतृत्वले “केही पनि भएको छैन” भन्ने भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाएको छ। पालिकाका अध्यक्ष टासी लामाको नेतृत्वमा पाँचपोखरी थाङ्पालले विकासका क्षेत्रमा उल्लेखनीय फड्को मारेको भन्दै तथ्यमा आधारित मूल्याङ्कन गर्न सबैलाई आग्रह गरिएको छ। “एकपटक जिल्लाका १२ वटै पालिका भ्रमण गरेर, अध्ययन गरेर मात्रै निष्कर्ष निकाल्नुस्,” भनेर पालिकाले आग्रह समेत गरेको छ।

२१ माघ २०८२, मंगलवार १८:१५