शान्ति सेवा गृहद्वारा चौतारामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


सुनिता रखाल, चौतारा ।

चौतारा साँगाचोकगढी नगरपालिका–११ मा शान्ति सेवा गृह क्लिनिक तथा पुनस्र्थापना केन्द्रको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा सञ्चालन भएको हो।

शिविरको उद्घाटन गर्दै पूर्व मन्त्री दुलालले गाउँघरमा स्वास्थ्य सेवा पहुँच नपुग्दा नागरिकहरू साना रोगलाई पनि गम्भीर अवस्थामा पुर्‍याएर बस्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। यस्ता निःशुल्क शिविरहरूले नागरिकलाई प्रारम्भिक अवस्थामै रोगको पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने भएकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ थियो।

वडा नम्बर ११ का अध्यक्ष रोशनराज गिरिले यस्ता शिविरहरूले दीर्घकालीन असर पार्न सक्ने रोगहरू प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुग्ने बताए। उनले नगरवासीलाई लक्षित गरी शिविर सञ्चालन गर्ने कार्य प्रशंसनीय रहेको धारणा राखे।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, स्त्री रोग परीक्षण, सुगर तथा प्रेसर जाँच, टी टी खोप, आँखा परीक्षण, परामर्श सेवा लगायतका निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। साथै, वृद्धवृद्धा तथा बालबालिकाका लागि ब्रस, मञ्जन, लिटोको पिठो वितरण गरिएको थियो।

शिविरबाट ५६५ जना सेवाग्राहीहरूले प्रत्यक्ष लाभ उठाएको आयोजक संस्थाले जानकारी दिएको छ। सहभागीहरूले घर आँगनमै स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।

शान्ति सेवा गृहले यसअघि पनि चौतारामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाएको जनाएको छ ।

१७ बैशाख २०८२, बुधबार ११:०६