/*php the_title();*/?>
जनतापत्र ,सिन्धुपाल्चोक-
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्नो ३४औँ स्थापना दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाएको छ। स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा प्रभातफेरी, रक्तदान, सदस्यता कार्ड वितरण, वेबसाइट शुभारम्भ तथा शुभकामना आदान–प्रदान जस्ता गतिविधिहरू समावेश गरिएका थिए।
दिवसको दिन विहान चौतारामा सम्पन्न रक्तदान कार्यक्रममा १९ जना रक्तदाताले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा नेपाल ब्लोडान एसोसियसन सिन्धुपाल्चोकको सक्रिय सहकार्य रहेको थियो। संकलित रगत चौतारा अस्पतालअन्तर्गतको रक्तसञ्चार केन्द्रमा सुरक्षित रूपमा भण्डारण गरिने ब्लोडान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजुले जानकारी दिए।

स्थापना दिवसकै अवसरमा महासंघले धधध।ालवकष्लमजगउबअिजयप।यचन नामक आधिकारिक वेबसाइटको शुभारम्भ गरेको छ। सो वेबसाइटको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरे। उनले सामाजिक सञ्जालमा फैलने भ्रम र गैर–पत्रकारहरूले पत्रकारको नाममा फैलाउने गम्भीर अफवाहलाई रोक्न महासंघले नेतृत्व लिनुपर्ने धारणा राखे।

कार्यक्रमका विशेष अतिथि तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद बागचन्दले पत्रकारितामा सुरु भएको प्रविधिगत रूपान्तरण र त्यसको चुनौतीबारे प्रकाश पारे। उनका अनुसार सामाजिक सञ्जालमा आएका सूचनाहरू प्रायः आधिकारिक नहुने हुँदा तथ्यपरक पत्रकारिताको आवश्यकताप्रति आम समुदाय सचेत हुनुपर्छ।
चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले सत्य, तथ्य र विश्वसनीय समाचार प्रकाशन गर्न पत्रकारहरूलाई आग्रह गरिन्। उनले पत्रकारिताले जनतासँग विश्वास कायम राख्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लोकतन्त्रको धरोहर नै पत्रकारिता भएको उल्लेख गर्दै सामाजिक सञ्जाल र पत्रकारिताको स्पष्ट परिभाषा छुट्याउन नीतिगत व्यवस्था आवश्यक रहेको बताए।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व कोषाध्यक्ष सोम सापकोटाले पत्रकारितालाई मर्यादित र जवाफदेही बनाउन महासंघको भूमिका अझ मजबुत हुनुपर्ने टिप्पणी गरे।
मानवअधिकारकर्मी नातीवाबु धितालले विगतका आन्दोलन र पत्रकारिताको ऐतिहासिक योगदान स्मरण गर्दै नागरिकको हकहितमा केन्द्रिकृत भई तथ्यपरक भूमिकामा जोड दिन महासंघले निरन्तरता दिनुपर्ने बताए।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जिल्लाको आर्थिक विकासमा पूर्वाधार, कृषि, पर्यटन र व्यापार क्षेत्रलाई जोड्ने समाचार उत्पादन गर्न आग्रह गरे। उनले विशेषगरी तातोपानी नाका नियमित सञ्चालन हुनुपर्ने र यसमा पत्रकार महासंघको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गरे।
कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गरेका थिए। नेकपा एमालेका प्रदेश सदस्य इन्द्र नेपाल, नेका जिल्ला नेता गोविन्द पराजुली, रास्वपाका शान्ति थिङलगायतले आमसञ्चारमाध्यमले जनविश्वास कायम राख्दै परिवर्तनका मार्गनिर्माताको भूमिका बजाउँदै आएको बताए।
स्थापना दिवसका प्रारम्भिक कार्यक्रमअन्तर्गत चौतारा बजार परिक्रमा गरिएको प्रभातफेरी सम्पन्न भएको थियो। मुख्य कार्यक्रम महासंघको सभाहलमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष ध्रुव दंगालले गरेका थिए। उनले महासंघको स्थापनादेखि हालसम्मको गतिविधि, इतिहास, र नेतृत्वकर्ताहरूको भूमिकाबारे विस्तृत विवरण प्रस्तुत गरे। साथै नवनिर्मित वेबसाइटका खण्ड र यसको उपयोगिताबारे पनि जानकारी गराए।
कार्यक्रममा महासंघका साधारण सदस्य, पूर्व पदाधिकारी, स्थानीय तहका प्रतिनिधि, सरकारी तथा गैर–सरकारी संस्था, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक, ब्लोडान एसोसियसन तथा चौतारा अस्पतालका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता थियो। कार्यक्रम सचिव टीका सुवेदीको सञ्चालकत्व, उपाध्यक्ष दीपक अर्यालको स्वागत मन्तव्य र उपाध्यक्ष कमला पाख्रीनको धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो।
















२७ मंसिर २०८२, शुक्रबार ०४:२४