/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
इन्द्रेश्वरी माध्यमिक विद्यालयले विद्यालय परिसरमै नमुना किचेन गार्डेन स्थापना गरी विद्यार्थीलाई आफ्नै उत्पादनको अर्गानिक तरकारी प्रयोग गरेर स्वस्थ दिवा खाजा खुवाउने अभियान सुरु गरेको छ। विद्यालय प्रशासनले यो पहललाई स्वावलम्बन र पोषणीय चेतना अभिवृद्धि गर्ने महत्वपूर्ण मोडेलका रूपमा लिएको छ। विद्यालयको खाली जग्गामा मौसमी तरकारीका विभिन्न प्रजाति रोपेर निर्माण गरिएको यो करेसाबारीमा विद्यार्थी, शिक्षक, बालक्लबका सदस्य तथा समुदायको सक्रिय भूमिका रहेको छ। फलामे टनेलमार्फत तरकारी उत्पादन गर्ने प्राविधिक अभ्याससँगै विद्यार्थीलाई खेतीपाती, रोपाइँ, गोडमेल र संरक्षणका सीपबारे व्यवहारिक प्रशिक्षण दिइएको छ। यस अभियानलाई चाइल्ड रेस्क्यू नेपाल र साझेदारी नेपालले सहयोग गरेका छन्। साझेदारी नेपालका सल्लाहकार पुरुषोत्तम घोरासैनी र कार्यक्रम अधिकृत पुष्पा भणरीका अनुसार विद्यालय स्तरमै सुरु गरिएको यो अभ्यासलाई निकट भविष्यमा अन्य विद्यालयसम्म विस्तार गर्ने योजना रहेको छ। विद्यालयका फोकल शिक्षक अमृत नगरकोटीले किचेन गार्डेनले बालबालिकाको पोषणस्तर सुधारमा प्रत्यक्ष योगदान गर्ने बताए। “विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई संरक्षण र निरन्तरतामा सहभागी गराइनेछ,” उनले प्रतिवद्धता व्यक्त गरे।
प्रधानाध्यापक देविप्रसाद श्रेष्ठ र शिक्षक जितबहादुर बस्नेतका अनुसार विद्यालयमा नै उत्पादन हुने अर्गानिक तरकारीलाई दिवा खाजामा प्रयोग गर्दा विद्यार्थीमा स्वावलम्बनको भावना बढ्ने मात्र होइन, वातावरणीय शिक्षा र पोषणीय चेतनामा पनि सकारात्मक प्रभाव पर्नेछ। स्थानीय समुदायले समेत विद्यालयको यो पहललाई सराहना गरेको छ।
१ आश्विन २०८२, बुधबार १२:१९